वेलिङ्टन – न्युजिल्याण्डको सत्तारुढ नेशनल पार्टीले विपक्षी लेबर पार्टीको चुनावी खर्च योजनामा १८.२ अर्ब डलरको वित्तीय अभाव (ग्याप) रहेको आरोप लगाएको छ ।

नेशनल पार्टीकी वित्त प्रवक्ता निकोला विलिसले पत्रकार सम्मेलन गर्दै लेबरले सार्वजनिक गरेका विभिन्न चुनावी प्रतिबद्धता र राजस्व संकलन योजनाबीच ठूलो अन्तर रहेको दाबी गरिन् । उनले लेबरको हालै सार्वजनिक गरिएको सार्वजनिक यातायात भाडा साप्ताहिक २० डलरमा सीमित गर्ने योजना समेत यथार्थपरक लागत मूल्यांकनबिनाको घोषणा भएको टिप्पणी गरिन् ।

विलिसका अनुसार लेबरले प्रस्ताव गरेका खर्च कार्यक्रम र पुँजीगत लाभकरबाट प्राप्त हुने अनुमानित आम्दानीबीच १८.२ अर्ब डलरको अन्तर देखिएको छ। उनले यसलाई “न्युजिल्याण्डवासीका लागि लुकाइएको १८ अर्ब डलरको बिल” भन्दै आलोचना गरिन् ।

उनले वर्तमान सरकारले आर्थिक अनुशासन कायम राख्दै अर्थतन्त्रलाई पुनः वृद्धि मार्गमा ल्याएको, बेरोजगारी र सार्वजनिक ऋण घट्ने प्रक्षेपण रहेको उल्लेख गर्दै लेबरका पछिल्ला नीतिहरू आर्थिक व्यवस्थापनका लागि उपयुक्त नभएको दाबी गरिन् ।

लेबर पार्टीले भने सार्वजनिक यातायात भाडा सीमित गर्ने योजनाले सर्वसाधारणलाई वार्षिक रूपमा उल्लेखनीय बचत हुने जनाएको छ । यस विषयमा लेबर पार्टीको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।