न्युजिल्याण्डको क्राइस्टचर्च शहरमा नेपाल फेस्टिभल सुरु भएको छ । यसअघि बन्द कोठामा सीमित हुने गरेको फेस्टिभललाई एनआरएनए न्युजिल्याण्ड र स्थानीय नेपाली समुदायले पहिलो पटक क्राइस्टचर्च शहरमा बृहत रूपमा खुला आकाशमुनि आयोजना गरेका हुन् ।

अकल्याण्डमा भने विगत केही वर्षदेखि नै खुला आकाशमुनि नेपाल फेस्टिभल आयोजना हुँदै आएको छ । गत हप्ता मात्र अकल्याण्डमा विशेष कार्यक्रमसहित फेस्टिभल सम्पन्न भएको थियो, जसमा न्युजिल्याण्डका मन्त्री, विपक्षी दलका नेता, सांसद तथा विभिन्न समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यता, क्राइस्टचर्चमा सुरु भएको फेस्टिभलमा पनि मन्त्री, सांसद, विपक्षी दलका नेता, मेयर तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।

नेपाली समुदायले यस फेस्टिभललाई नेपालको गौरवसँग जोडेर हेरेका छन् । नेपाली मात्र नभई नेपाल र नेपाली कला–संस्कृतिबारे गैर–नेपालीलाई जानकारी गराउँदै नेपालप्रतिको आकर्षण बढाउने उद्देश्य राखिएको छ । फेस्टिभलमा नेपाली परिकारसँगै झाँकी तथा नेपाली कलाको प्रदर्शनी गरिनेछ । साथै लोकगायक पशुपति शर्मा ले विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ।

यसैबीच, न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन ले क्राइस्टचर्चमा आयोजना भइरहेको नेपाल फेस्टिभलका अवसरमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गरेका छन्। उनले न्युजिल्याण्डमा नेपाली समुदायको भूमिकाको उच्च प्रशंसा गर्दै नेपाली समुदाय देशको महत्वपूर्ण र सम्मानित हिस्सा भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री लक्सनले नेपाल फेस्टिभलजस्ता सांस्कृतिक कार्यक्रमहरूले विविधता, एकता र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने बताएका छन् । यस्ता कार्यक्रमले नेपाली कला, संस्कृति र पहिचान झल्काउनुका साथै विभिन्न समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्ने विश्वास पनि व्यक्त गरेका छन् । साथै नेपाली समुदायले सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै संगीत, स्वादिला परिकार र बलियो सामुदायिक भावनाले फेस्टिभललाई विशेष बनाउने बताएका छन् ।

नेपाल फेस्टिभलको सुरुवातसँगै क्राइस्टचर्च शहर नेपालमय बनेको छ। स्कुल, कलेज तथा पार्कहरूमा फेस्टिभलसम्बन्धी सामग्री टाँसिएका छन् भने शहरका मुख्य चोकहरूमा राखिएका डिजिटल होर्डिङ बोर्डहरूले सर्वसाधारणको ध्यान आकर्षित गरिरहेका छन् । सामाजिक सञ्जालमा पनि नेपाली तथा गैर–नेपाली समुदायले उत्साहपूर्वक सहभागिताका लागि आह्वान गरिरहेका छन् ।

फेस्टिभलमा नेपाली समुदायको पहिचान, संस्कृति र परम्परा झल्काउने विभिन्न सामग्रीहरूको प्रदर्शनी गरिएको छ। यसलाई नेपालीहरू मात्र नभई नेपालप्रेमी सबैका लागि साझा उत्सवका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमलाई थप आकर्षक बनाउन विभिन्न खेलकुद गतिविधि तथा पुरस्कारको व्यवस्था गरिएको छ। कार्यक्रममा न्युजिल्याण्डका मन्त्री, सांसद, मेयर तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । गैर–नेपाली समुदायको सहभागिता बढाउन विशेष प्रयास गरिएको आयोजकले जनाएको छ ।

एनआरएनए न्युजिल्याण्ड का अध्यक्ष अच्युत अर्यालले न्युजिल्याण्डमा बसोबास गर्ने सबै समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । उनका अनुसार यो फेस्टिभल नेपाली संस्कृति प्रवर्द्धनसँगै समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अवसर हो ।

नेपाल फेस्टिभल २०२६ मा दिनभर विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुनेछन्। बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा सहभागीहरूले जुनसुकै समयमा आएर अवलोकन तथा सहभागिता जनाउन सक्नेछन् । कार्यक्रममा मोमो, चाउमिन, सेलरोटी लगायतका नेपाली परिकारका स्टलहरू रहनेछन् भने बालबालिकाका लागि फेस पेन्टिङ, बेलुन ट्विस्टिङ तथा विभिन्न खेलकुद गतिविधिहरूको पनि व्यवस्था गरिएको छ।

त्यसैगरी नेपाली कला र संस्कृतिको झल्को दिने हस्तकला, लत्ताकपडा, गहना तथा समुदायसँग सम्बन्धित स्टलहरू राखिनेछन्। दिनभर लाइभ सङ्गीत र सांस्कृतिक प्रस्तुतिहरूले वातावरणलाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रम तालिकाअनुसार बिहान १० बजे तयारी तथा टोली आगमन, १०:३० बजे बहुसांस्कृतिक झाँकी (परेड), ११:३० बजे औपचारिक उद्घाटन तथा १२ बजे स्वागतसहित सांस्कृतिक प्रस्तुति हुनेछ । दिउँसो १ बजे स्टल अवलोकन तथा भोजन समय राखिएको छ भने २ बजेदेखि ५ बजेसम्म सांगीतिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । उक्त कार्यक्रममा लोकगायक पशुपति शर्मा ले विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ। साँझ ५ बजेदेखि ५:३० बजेसम्म समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।