न्युजिल्याण्डको सत्तारूढ गठबन्धन सरकारअन्तर्गत नेशनल पार्टीले आफ्नो पहिलो दुई बजेट (२०२४ र २०२५) मार्फत झण्डै ४४ अर्ब डलर बराबरको बचत गरेको दाबी गरेको छ । अर्थमन्त्री निकोला विलिसले बहुवर्षीय बचत योजना कार्यान्वयन गर्दै कर कटौती र सार्वजनिक सेवा सुधारका लागि आवश्यक स्रोत सुनिश्चित गरिएको बताएकी छन् ।
सरकारका अनुसार सन् २०२५ को बजेटबाट मात्र आगामी चार वर्षका लागि १२.८ अर्ब डलर बराबरको “फिस्कल हेडरूम” सिर्जना भएको छ । यो मुख्यतः तलब समानता (पे इक्विटी) प्रणालीमा कडाइका साथ गरिएको पुनर्संरचनाबाट सम्भव भएको जनाइएको छ ।
यसअघि सन् २०२४ को बजेट र अन्य नीतिगत निर्णयमार्फत करिब ४ अर्ब डलर बराबरको बचत, खर्च कटौती तथा पुनःप्राथमिकता निर्धारण गरिएको थियो । “मिनी बजेट” मार्फत वार्षिक ७७५ मिलियन डलर कटौती गरिएको थियो भने सरकारी विभागहरूको आधारभूत खर्चमा वार्षिक १.५ अर्ब डलर कटौती गरिएको उल्लेख गरिएको छ ।
सरकारले सबैभन्दा ठूलो बचत तलब समानता योजनामा गरिएको परिवर्तनबाट हुने अपेक्षा गरेको छ, जसबाट ११ देखि १२.८ अर्ब डलरसम्म बचत हुने अनुमान गरिएको छ। त्यस्तै, किवीसेभरमा सरकारी योगदान आधा घटाउँदा आगामी चार वर्षमा करिब ३ अर्ब डलर बचत हुने प्रक्षेपण गरिएको छ ।
यसका साथै सार्वजनिक सेवा निकायहरूमा ६.५ देखि ७.५ प्रतिशतसम्म खर्च कटौती गर्ने लक्ष्य राखिएको छ । १८–१९ वर्ष उमेर समूहका लागि सामाजिक सहायता सम्बन्धी परिवर्तनबाट सन् २०२७ देखि वार्षिक ८४ मिलियन डलर बचत हुने पनि अनुमान गरिएको छ ।
