नेपालका प्रधानमन्त्री बालेन्द्र शाह प्रतिष्ठित टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२६ को ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा परेका छन् । उक्त सूचीमा डोनाल्ड ट्रम्प, सी जिनफिङ, मार्क केली जस्ता विश्वका शक्तिशाली नेताहरू पनि समावेश छन् । म्यागेजिनले नेताहरूको श्रेणीमा विश्वभरका २५ जना व्यक्तित्वलाई स्थान दिएको छ ।
३५ वर्षीय प्रधानमन्त्री शाह गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट विजय हासिल गर्दै नेपालको प्रधानमन्त्री बन्न सफल भएका व्यक्ति हुन् । उनले तत्कालीन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीलाई फराकिलो मत अन्तरले पराजित गरेका थिए । टाइम म्यागेजिनले गरेको विश्लेषणअनुसार बालेनको उदय युवापुस्ताको व्यापक समर्थन, अघिल्लो वर्षको जनआन्दोलनको प्रभाव तथा काठमाडौँ महानगरपालिकामा गरेको रचनात्मक कामका कारण सम्भव भएको हो । नेताहरूको सूची
टाइमका एडिटर–एट–लार्ज चार्ली क्याम्पबेलले लेखेको प्रोफाइलमा शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरका रूपमा चित्रण गरिएको छ । परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनताको समर्थनले उनलाई राष्ट्रिय नेतृत्वमा पुर्याएको उल्लेख गरिएको छ ।
राजनीतिमा आउनुअघि कलाकार र इन्जिनियरका रूपमा परिचित शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन उल्लेखनीय पहल गरेका थिए। यही कार्यशैलीका कारण उनी राष्ट्रियस्तरमा लोकप्रिय बनेका हुन् ।
शाह आफ्नो स्पष्ट र कडा अभिव्यक्तिका कारण पनि चर्चित छन् । उनले भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउँदै आएका छन् भने संगीत पृष्ठभूमिका कारण युवामाझ विशेष प्रभाव राख्ने नेताका रूपमा चित्रित गरिएको छ ।
यद्यपि, स्थानीय तहमा हासिल गरेको सफलता राष्ट्रिय स्तरमा दोहोर्याउन सक्ने वा नसक्ने भन्ने प्रश्न अझै कायम रहेको टाइमले उल्लेख गरेको छ । आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचारजस्ता चुनौतीबीच शाहको नेतृत्व कत्तिको प्रभावकारी हुन्छ भन्नेमा अहिले सबैको ध्यान केन्द्रित भएको छ
