न्युजिल्याण्डको क्राइस्टचर्च शहर यतिबेला नेपालमय बनेको छ। शहरका साना–ठूला होटल, रेष्टुरेन्टदेखि पुस्तकालयसम्म आगामी शनिबार हुने नेपाल फेस्टिभलको चर्चा हुने गरेको छ। मानिसहरूको जमघट हुने हरेक स्थानमा नेपाल फेस्टिभलका प्रचार सामग्रीहरू राखिएका छन्।

त्यति मात्र होइन, स्कुल, कलेज तथा पार्कहरूमा समेत नेपाल फेस्टिभलका सामग्री टाँसिएका छन्। यसका साथै शहरका मुख्य चोकहरूमा झुन्ड्याइएका डिजिटल होर्डिङ बोर्डहरूले सर्वसाधारणको ध्यान राम्ररी खिचिरहेको देखिन्छ। सामाजिक सञ्जालमा पनि नेपाली तथा गैर–नेपाली दुवैले फेस्टिभलमा सहभागिताका लागि उत्साहपूर्वक आह्वान गरिरहेका छन्।
नेपाल फेस्टिभलका प्रचार सामग्रीले पैदल यात्री होस् या सवारी चालक सबैलाई एक पटक रोकिएर हेर्न र बुझ्न बाध्य बनाएको देखिन्छ। त्यो पनि गैर–नेपाली समुदायका मानिसमा बढी देखिन्छ।

आयोजक संस्था एनआरएनए न्युजिल्याण्डका अनुसार नेपाल फेस्टिभलका लागि सम्पूर्ण तयारी लगभग पूरा भएको छ। कार्यक्रमको संरचना, प्रस्तुति तथा व्यवस्थापनसम्बन्धी सबै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। नेपाली समुदायको पहिचान, संस्कृति र परम्परालाई झल्काउने विभिन्न सामग्रीहरूको प्रदर्शनी गरिनेछ। फेस्टिभललाई नेपालीहरूको मात्र नभई नेपालप्रेमी सबैका लागि साझा उत्सवका रूपमा स्थापित गर्ने लक्ष्यसहित तयारी गरिएको हो।
कार्यक्रमलाई थप आकर्षक बनाउन विभिन्न खेलकुद गतिविधि तथा पुरस्कारको व्यवस्था गरिएको छ। कार्यक्रममा न्युजिल्याण्डका मन्त्री, सांसद, मेयर तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। नेपाल र नेपाली संस्कृतिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममा गैर–नेपाली समुदायको सहभागिता बढाउन विशेष प्रयास गरिएको आयोजकले जनाएको छ।
एनआरएनए न्युजिल्याण्डका अध्यक्ष अच्युत अर्यालले न्युजिल्याण्डमा बसोबास गर्ने सम्पूर्ण समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार यो फेस्टिभल नेपाली संस्कृति प्रवर्द्धनसँगै समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अवसर हो।
नेपाल फेस्टिभल २०२६ मा दिनभर विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुनेछन्। बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा सहभागीहरूले जुनसुकै समयमा आएर रमाइलो गर्न सक्नेछन्। कार्यक्रममा मोमो, चाउमिन, सेलरोटी लगायतका नेपाली परिकारका स्टलहरू रहनेछन् भने बालबालिकाका लागि फेस पेन्टिङ, बेलुन ट्विस्टिङ तथा विभिन्न खेलकुद गतिविधिहरूको पनि व्यवस्था गरिएको छ।

त्यसैगरी नेपाली कला र संस्कृतिको झल्को दिने हस्तकला, लत्ताकपडा, गहना तथा समुदायसँग सम्बन्धित स्टलहरू राखिनेछन्। दिनभर लाइभ म्युजिक र सांस्कृतिक प्रस्तुतिहरूले वातावरणलाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रम तालिका अनुसार बिहान १० बजे तयारी तथा टोली आगमन, १०:३० बजे बहुसांस्कृतिक झाँकी (परेड), ११:३० बजे औपचारिक उद्घाटन तथा १२ बजे स्वागतसहित सांस्कृतिक प्रस्तुति हुनेछ। दिउँसो १ बजे स्टल अवलोकन तथा खानाको समय राखिएको छ भने २ बजेदेखि ५ बजेसम्म सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। उक्त कार्यक्रममा लोकगायक पशुपति शर्माले विशेष प्रस्तुति दिने कार्यक्रम रहेको छ। साँझ ५ बजेदेखि ५:३० बजेसम्म समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ।








