क्राइस्टचर्च । न्युजिल्याण्डको क्राइस्टचर्च शहर यतिबेला नेपालमय बनेको छ। शहरभर नेपाल फेस्टिभलको माहोल छाउँदै गएको छ भने नेपालीसँगै गैर-नेपाली समुदायमा पनि यसको चर्चा व्यापक रूपमा भइरहेको छ।
शहरका विभिन्न व्यवसाय, स्कूल तथा कलेजहरूमा नेपाल फेस्टिभलका पोस्टर, ब्यानर र डिजिटल सामग्रीहरू देखिन थालेका छन्। चोक–चोकमा फेस्टिभलका प्रचार सामग्री टाँसिएका छन् भने सामाजिक सञ्जालमार्फत पनि यसको प्रचारप्रसार तीव्र बनाइएको छ।
विशेषगरी गैर-नेपाली समुदायले समेत उत्साहका साथ फेस्टिभलको प्रचारमा सक्रियता देखाएका छन्। उनीहरूले सामाजिक सञ्जालमा पोस्टमार्फत कार्यक्रमबारे जानकारी फैलाइरहेका छन्, जसले फेस्टिभलप्रति थप आकर्षण बढाएको छ।
क्राइस्टचर्च सिटी काउन्सिलले समेत नेपाल फेस्टिभललाई सफल बनाउन विभिन्न चरणमा छलफल गर्दै सहयोग गरिरहेको छ। स्थानीय सरकारको सहकार्यमा एनआरएनए न्युजिल्याण्ड र स्थानीय नेपाली समुदायको सक्रियतामा अप्रिल १८ मा हुने फेस्टिभलका लागि निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ, जसले सहभागिता अझ बढाउने अपेक्षा गरिएको छ।
फेस्टिभललाई भव्य र मनोरञ्जनात्मक बनाउन विभिन्न सांस्कृतिक तथा रमाइला कार्यक्रमहरू राखिएको छ। कार्यक्रममा नेपाली कला, संस्कृति, परम्परागत खानाका परिकार तथा विविध सांगीतिक प्रस्तुति रहने तयारी गरिएको छ।
क्राइस्टचर्चमा बसोबास गर्ने नेपालीहरूबीच कार्यक्रमप्रति उत्साह दिनप्रतिदिन बढ्दै गएको छ। यस वर्षको नेपाल फेस्टिभललाई क्राइस्टचर्चमा आयोजना हुने नेपालीहरूको सबैभन्दा ठूलो कार्यक्रमका रूपमा हेरिएको छ।
फोटो : कृष्ण भण्डारी





