काठमाडौं । निर्वाचन आयोग नेपाल ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई यही चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ।

समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत का अनुसार चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरिनेछ।

राजनीतिक दलको तर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण सार्वजनिक गर्दै आयोगले उनीहरूलाई निर्वाचित भएको घोषणा गरिसकेको छ। आयोगले राजनीतिक दलबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुईप्रति पासपोर्ट आकारका तस्बिरसहितको विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि छ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७ सिट, नेपाली कांग्रेस ले २० सिट, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६ सिट, नेपाल कम्युनिस्ट पार्टी ले ९ सिट, श्रम संस्कृति पार्टी ले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४ सिट प्राप्त गरेका छन्।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। आयोगले समानुपातिकतर्फ निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने जनाएको छ।