काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरस्थित एक होटलमा मंगलबारबाट सुरु भएको उक्त कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे विस्तृत जानकारी दिइँदैछ।
पार्टी प्रवक्ता मनिष झाले अभिमुखीकरणमा पार्टीका नीतिहरू, संसदीय आचरण र जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि जानकारी गराइने बताए। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी उल्लेखनीय १८२ सिट जितेको छ।
कार्यक्रममा सहभागी हुन रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई छ बुँदे निर्देशन जारी गरेका थिए। अभिमुखीकरण कार्यक्रमको उद्घाटन पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई जनताबाट प्राप्त ऐतिहासिक जनादेशलाई जिम्मेवारीपूर्वक पूरा गर्न आग्रह गरे। उनले सांसदहरूलाई पुनः अध्ययनमा केन्द्रित हुन सुझाव दिँदै संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न आधारभूत दस्तावेज र पार्टीका धारणाहरू गहिरो रूपमा अध्ययन गर्नुपर्ने बताए।
“अब फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ, जस्तै पुनः कलेज फर्किएजस्तै हो,” उनले भने, “पार्टीका वाचापत्र र नीतिगत दस्तावेजहरू बारम्बार अध्ययन गर्नु आवश्यक छ।”
वाग्लेले सांसदहरूलाई व्यक्तिगत समस्या समाधानभन्दा पनि समग्र प्रणाली सुधारमा केन्द्रित हुन आग्रह गरे। “हामी प्रणाली बदल्न आएका हौं। देशको अस्तव्यस्त अर्थ–राजनीतिक अवस्थालाई सुधार्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ,” उनले भने।
उनले संसद्मा विधायकको रूपमा मुख्य भूमिका कानुन निर्माण भएको स्पष्ट पार्दै सरकारका कामहरूको निगरानी गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। “आ–आफ्नो निर्वाचन क्षेत्रका जनताको आवाज बुलन्द रूपमा उठाउनु आवश्यक छ,” उनले भने।
उपसभापति डोलप्रसाद अर्यालले पनि उद्घाटन सत्रमा महत्वपूर्ण निर्देशन दिँदै देशको वर्तमान अवस्था, पार्टीका प्रतिबद्धता र सांसदहरूको जिम्मेवारीबारे प्रकाश पारे।
अभिमुखीकरणको पहिलो दिन पूर्वसचिव सुरेश अधिकारी र पूर्वकानुन सचिव तोयानाथ अधिकारीले प्रशिक्षण दिएका छन्। साथै, कार्यक्रममा रास्वपाका केही सांसदहरूले आफ्नो अनुभव पनि साझा गर्ने व्यवस्था गरिएको छ।
अभिमुखीकरणमा अशोक चौधरी, शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, हरि ढकाल, मनिष झा र विराजभक्त श्रेष्ठले आफ्ना अनुभव प्रस्तुत गर्नेछन्।
रास्वपाले नयाँ सांसदहरूलाई जिम्मेवार, अध्ययनशील र प्रभावकारी बनाउने उद्देश्यले यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ। तस्बिरः केशब गुरुङ । गोरखापत्र
