काठमाडौं । गैर आवासीय नेपाली संघ को विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन १२ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ। ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौं मा आयोजित सम्मेलनले विश्वभर रहेका नेपाली समुदायबीच एकता सुदृढ गर्दै नेपालमा लगानी विस्तार र आर्थिक समृद्धिका लागि सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
महाधिवेशनले हेमराज शर्मा को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। सम्मेलनमा विभिन्न देशमा बसोबास गर्ने गैरआवासीय नेपाली, नीति निर्माता, लगानीकर्ता, श्रमिक प्रतिनिधि, युवा, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजकका अनुसार सम्मेलनमा चार हजार दुई सय छयासी प्रतिनिधि सहभागी भएका थिए। तीमध्ये चार सयभन्दा बढी प्रतिनिधि काठमाडौंमा प्रत्यक्ष उपस्थित भएका थिए भने बाँकी सहभागीहरू विद्युतीय माध्यममार्फत सहभागी भएका थिए।
सम्मेलनले विदेशमा रहेका नेपालीहरूको लगानी नेपाल भित्र्याउन सहज र अनुकूल वातावरण निर्माण गर्न नेपाल सरकार सँग आग्रह गरेको छ। घोषणापत्रमा रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा योगदान पुर्याउने गरी गैरआवासीय नेपाली लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी गैरआवासीय नेपालीको लगानी व्यवस्थापनलाई प्रभावकारी बनाउन छुट्टै संयन्त्र स्थापना गर्न तथा यससम्बन्धी कानुनी सुधार गर्न सरकारसँग माग गरिएको छ। नागरिकता ऐन, आयकर ऐन तथा विदेशी लगानी र प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संशोधन गरी लगानी प्रक्रिया सरल र प्रभावकारी बनाउनुपर्ने सम्मेलनको सुझाव छ।
सम्मेलनले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको एनआरएन नेपाल विकास कोष बाट जारी हुने धितोपत्रको सीमा ८५ प्रतिशत कायम गर्न पनि माग गरेको छ। यसबाट विदेशमा रहेका नेपालीको लगानीलाई औपचारिक रूपमा नेपालको आर्थिक विकाससँग जोड्न सकिने विश्वास व्यक्त गरिएको छ।
मध्यपूर्व क्षेत्रको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सम्मेलनले संकटमा परेका नेपालीहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल सरकार तथा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ। साथै विदेशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य बढाउने निर्णय पनि गरिएको छ।
घोषणापत्रमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सरकारसँग आग्रह गरिएको छ। संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी आवश्यक संशोधन छिटो गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ।
सम्मेलनले विदेशमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका नेपाली युवालाई भाषा, संस्कृति र पहिचानसँग जोड्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ। साथै विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सहकार्य गरी ज्ञान, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमार्फत नेपालको विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहन गर्ने र नेपाललाई विश्वसामु चिनाउने अभियानलाई थप सशक्त बनाउने निर्णय पनि सम्मेलनले गरेको छ।
सम्मेलनले नव निर्वाचित नेतृत्वले आगामी दिनमा बन्ने सरकारसँग सहकार्य गर्दै गैरआवासीय नेपाली संघलाई विश्वभरका नेपालीहरूको साझा र समावेशी संस्थाका रूपमा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै सम्मेलन सफल बनाउन सहयोग गर्ने नेपाल सरकार तथा अन्य सरोकारवाला निकायप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्।
