न्यूजील्याण्ड — न्यूजील्याण्डमा रहेका नेपाली युवाहरूका आवाज, समस्या र भावनालाई एकीकृत गर्दै समाधानतर्फ उन्मुख गराउने उद्देश्यका साथ स्थापित संस्था ‘हाम्रो एकता’ ले आफ्नो सामुदायिक गतिविधिलाई सक्रियताका साथ अघि बढाएको छ। युवाहरूको कुरा सुन्ने, उनीहरूको समस्या सम्बोधन गर्ने र सहकार्यका माध्यमबाट समाधान खोज्ने प्रभावकारी निकायको अभाव महसुस गर्दै केही युवाहरू मिलेर स्थापना गरिएको यो संस्था सोही गतिमा अघि बढिरहेको छ।

संस्थाका अध्यक्ष सौरभ बस्नेतका अनुसार नेपालबाट न्यूजील्याण्ड आएका नेपाली युवाहरूले आफ्ना पीडा, चुनौती र सुझाव खुलस्त रूपमा राख्न नसक्दा गहिरो निराशा अनुभव गर्नुपरेकाले ‘हाम्रो एकता’ को अवधारणालाई जन्म दिएको हो। उहाँले भन्नुभयो, “हामीले युवाहरूको आवाज सुन्ने र उनीहरूको पक्षमा बोलिदिने संस्था नदेखेपछि आफैं अगाडि बढ्ने निर्णय गर्‍यौं। साथी–साथी मिलेर संस्था खोलेका हौं र अहिले सामूहिक रूपमा काम गरिरहेका छौं।”

‘हाम्रो एकता’ ले विशेष गरी नयाँ आउने र आउँदै गरेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आवश्यक सूचना, परामर्श र सहयोग उपलब्ध गराउँदै आएको छ। साथै नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू पनि गर्दै आएको छ। बसोबास, रोजगारी, कानुनी प्रक्रिया, मानसिक स्वास्थ्य, होमसिकनेस तथा सामाजिक एकीकरणजस्ता विषयमा सहयोग पुर्‍याउने संस्थाको प्राथमिकता रहेको छ। यसका साथै समुदायभित्र आपसी सहकार्य र सकारात्मक सोचको विकासमा जोड दिइएको छ, अध्यक्ष बस्नेतले हिमालपारीसँग बताउनुभयो।

अध्यक्ष बस्नेतले थप स्पष्ट पार्दै भन्नुभयो, “हामी कसैसँग झगडा गर्न आएका होइनौं। सहकार्य र समझदारीका आधारमा अघि बढ्दै, नेपाली समुदायले भोगिरहेका तथा भविष्यमा पर्न सक्ने समस्याबाट सजग गराउने हाम्रो उद्देश्य हो। हामी सबैसँग हातेमालो गरेर अघि बढ्न चाहन्छौं र त्यस दिशामा निरन्तर सक्रिय पनि छौं।”

संस्थाकी सचिव कल्पना सापकोटाले विदेशको यात्रा ठूलो संघर्ष र मेहनतपछि सम्भव हुने उल्लेख गर्दै ‘हाम्रो एकता’ को यात्रा दीर्घकालीन र निरन्तर रहने बताउनुभयो। उहाँले भन्नुभयो, “हामी यहाँ आइपुग्न धेरै संघर्ष गरेका छौं। अहिले हामी उडान भर्दैछौं, हाम्रो यात्रा अनन्त छ। यो यात्रामा सबैलाई साथ लिएर अघि बढ्ने हाम्रो प्रतिबद्धता हो।”

‘हाम्रो एकता’ ले आगामी दिनमा समुदायस्तरका छलफल, सचेतना कार्यक्रम, परामर्श सेवा तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको छ। साथै, प्रवासी नेपाली युवाका आवाजलाई नेपालसम्म पुर्‍याउने सेतुका रूपमा पनि संस्थाले भूमिका खेल्ने अपेक्षा गरिएको छ।

संस्थाका पदाधिकारीहरूले ‘हाम्रो एकता’ को उद्देश्य, अभियान र भावी योजनाबारे हिमालपारी टिभीको युट्युब च्यानलमा प्रसारण हुने ‘चिट–च्याट वीथ परदेशी’ कार्यक्रममा विस्तृत रूपमा आफ्ना धारणा राखेका छन् ।