सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिने विषयमा आफूले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला मन्त्री खरेलले ती समाचार तथ्यहीन भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफूले निर्वाचनमा उम्मेदवारी दिने वा नदिने सम्बन्धमा कुनै पनि पार्टीसँग छलफल नगरेको, न कुनै पार्टीमा प्रवेश गरेको जानकारी दिनुभयो। मन्त्री खरेलका अनुसार आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा समयमै निर्वाचन सम्पन्न गराउनेतर्फ केन्द्रित रहेको छ।

उहाँले सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण गराउँदै सही र जिम्मेवार पत्रकारिताको आग्रह गर्नुभयो। “मैले चुनाव उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन, न त कुनै पार्टीसँग वार्ता गरेको छु,” मन्त्री खरेलले स्पष्ट पार्नुभयो। साथै, मुलुक संवेदनशील निर्वाचन प्रक्रियामा रहेको उल्लेख गर्दै गलत वा भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो।