चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनअन्तर्गत पुरुष उपसभापति पदमा डा। स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन्। उनका प्रतिस्पर्धी विराजभक्त श्रेष्ठ ले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्।

यसअघि नै पार्टी सभापति पदमा रवि लामिछाने एक्ला उम्मेदवार रहेकाले निर्विरोध चयन भइसकेका छन् । यद्यपि, अन्य पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिएको छैन। महिला उपसभापति पदका लागि सोबिता गौतम, इन्दिरा रानामगर र डा। तोसिमा कार्की बीच प्रतिस्पर्धा हुने भएको छ।

यसअघि केही असन्तुष्टिका बीच रास्वपाले केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गरेको थियो। तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित असार ७ गते चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशन विभिन्न निर्वाचन प्रक्रिया र व्यवस्थापकीय कारणले लम्बिँदै छैटौं दिन सम्म पुगेको छ। अब बाँकी पदाधिकारीहरूको निर्वाचन र अन्तिम नेतृत्व चयनसँगै महाधिवेशन समापन हुने अपेक्षा गरिएको छ।