क्यान्टबरी नेपाली समाजका अध्यक्ष दीपक पाण्डे क्राइस्टचर्च नागरिक सम्मान २०२५ बाट सम्मानित भएका छन्। समाजसेवा, सामुदायिक नेतृत्व तथा क्राइस्टचर्च शहरका लागि पुर्‍याएको दिगो योगदानको कदर गर्दै क्राइस्टचर्च सिटी काउन्सिलले उनलाई यस वर्षको सिभिक अवार्ड प्रदान गरेको हो।

प्रत्येक वर्ष क्राइस्टचर्च सिटी काउन्सिलले उत्कृष्ट नागरिक र संस्थाहरूलाई शहरका लागि पुर्‍याएको सेवाको सम्मानस्वरूप सिभिक अवार्ड प्रदान गर्दै आएको छ। यही क्रममा पाण्डेले स्थानीय समुदायमा पुर्‍याएको योगदानलाई उच्च कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।

पाण्डेले समाजमा पुर्‍याएको सेवाले शहर र नागरिकहरूमा परेको सकारात्मक प्रभावलाई उनको सम्मानपत्रमा उल्लेख गरिएको छ। क्राइस्टचर्चका मेयर फिल माउगर र सिभिक अवार्ड्स कमिटीका अध्यक्ष काउन्सिलर यानी जोहान्सनले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, “यसरी तपाईं सम्मानित हुनुभएकोमा म व्यक्तिगत रूपमा अत्यन्त प्रसन्न छु। तपाईंका सेवाहरू औपचारिक रूपमा मूल्यांकन गरिएको छ।”

सम्मानपछि परदेशी कुरासँग बोल्दै अध्यक्ष पाण्डेले भने, “यो सम्मानले मलाई समाजसेवामा अझ बढी लाग्न हौसला र प्रेरणा दिएको छ।” विगत दश वर्षदेखि सामाजिक संस्थासँग आवद्ध रहँदै आएका पाण्डेले थपे, “मैले सम्मान पाउँला भनेर सामाजिक कार्यमा होमिएको होइन, तर आज यो सम्मान पाउँदा निकै खुशी लागेको छ।” यो सम्मान नेपाली समुदायका प्रयासहरूको उच्च मूल्याङ्कन भएको उल्लेख गर्दै उनले भने, “यो सम्मान म सम्पूर्ण नेपालीहरूलाई समर्पित गर्दछु।”