भारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा गत शनिबार मध्यरात भएको भीषण आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन्। सार्वजनिक समाचारहरूका अनुसार घटनामा घाइते छ जनामध्ये केहीको अवस्था पनि चिन्ताजनक छ।

मृतकमध्ये २० जना क्लबका कर्मचारी रहेको र तिनीहरूमध्ये चार जना नेपाली नागरिक रहेको गोवा सरकारले सार्वजनिक गरेको सूचिमा उल्लेख छ। हिन्दुस्तान टाइम्सका अनुसार निधन हुने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सविन र सुदीप रहेका छन्। उनीहरूको स्थायी ठेगाना खुल्न बाँकी छ। गोवा सरकारले मृतकका शव नेपाल पठाउने तयारी भइरहेको पनि समाचारमा उल्लेख छ।

अधिकारीहरूका अनुसार क्लबभित्र नाचगान चलिरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको हो। साँघुरा गल्ली तथा अवरुद्ध मार्गका कारण दमकल समयमै पुग्न नसक्दा आगो तीव्र रूपमा फैलिएको जनाइएको छ।

नाइट क्लबको भुइँतलामा र भान्सातिर थुनिएका धेरै व्यक्तिहरूले ज्यान गुमाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। केही जलेर र केही धुँवामा निसासिएर मृत्यु भएको पुष्टि गरिएको छ।

घटनापछि गोवा प्रहरीले क्लबका महाप्रबन्धकसहित चार जनालाई पक्राउ गरेको छ। क्लबका मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ। नियमविपरीत क्लब सञ्चालन अनुमतिदिने आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी निलम्बनमा परेका छन्।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्। साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानहरूको अडिट सुरु गरिने बताएका छन्।