काठमाण्डौ — प्लेअफमा प्रवेश गरेपछि काठमाण्डौं गोर्खाजका खेलाडी भीम सार्कीले टिमको योजनाअनुसार मैदानमा नतिजा आउनु सुखद भएको बताएका छन्। ‘म्यान अफ दी म्याच’ बनेका सार्कीले टिम कठिन अवस्थामा रहेकाले अधिकतम रन जोड्ने लक्ष्यसहित खेलेको र सोहीअनुसार नतिजा आएपछि आफू उत्साहित भएको बताए।
भीमले जितको श्रेय साहब आलमको बलिङ–फिल्डिङ र बेन चाल्र्थवर्थको प्रभावशाली ब्याटिङलाई दिए। आर्मीमा पनि सँगै खेलेका कारण आलमप्रति विशेष भरोसा रहेको उनले बताए। सुरुवाती खेलहरूमा टिम कम्बिनेसन अपेक्षित रूपमा नजुट्दा केही कठिनाइ भए पनि अहिले तालमेल राम्रो बनेपछि प्रदर्शनमा स्थिरता आएको उनको भनाइ छ।
उनका अनुसार प्रशिक्षक मोन्टी देसाईको नेपाली खेलाडीबारेको गहिरो ज्ञानले टिम सञ्चालन र संयोजनमा थप सहजता आएको छ।
यसैबीच, पोखरा एभेन्जर्सका श्रीलंकन खेलाडी धनञ्जय लक्षणले काठमाण्डौं गोर्खाजविरुद्धको हारपछि पहिलो १० ओभरमा प्रभावकारी ब्याटिङ गर्न नसकँदा ‘जित्नैपर्ने’ खेलमा असफल भएको प्रतिक्रिया दिए। उनका अनुसार पिच ब्याटिङका लागि राम्रो भए पनि शीर्षक्रमका ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा लक्ष्य पछ्याउन समस्या भएको हो।
लक्षणले एक चरणमा पोखरा जितनजिक पुगे पनि महत्वपूर्ण क्षणमा रन जोड्न नसक्दा नतिजा उल्टिएको बताए। उनले पोखरा एभेन्जर्स बलियो टोली रहेको उल्लेख गर्दै आगामी खेलमा सुधारसहित जित निकाल्ने विश्वास व्यक्त गरे। साथै अत्यधिक संख्यामा आएका समर्थकबीच खेल्न पाउनु आफैँमा उत्साहजनक रहेको प्रतिक्रिया दिए।
