जोशीले प्रत्येक महादेशमा २६ दशमलव २ माइल (४२ दशमलव १९ किलोमिटर) दूरीको फुल म्याराथन पूरा गर्नेछन्। यसरी सात दिनमा उनले कुल २९४ किलोमिटर दूरी दौडिनेछन्। विशेषता के छ भने, जोशीले सम्पूर्ण म्याराथन नेपाली पोसाक दौरा–सुरुवालमा दौडिनेछन्। सन् २०१५ देखि सञ्चालन हुँदै आएको यो चुनौतीपूर्ण प्रतियोगितामा नेपाली पोसाकमा दौडिने उनी पहिलो नेपाली बन्नेछन्।

यस वर्षको वल्ड म्याराथन च्यालेञ्जमा अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्युजिल्यान्ड, रोमानिया लगायत ३० भन्दा बढी देशका ५४ जना धावक सहभागी हुनेछन्। सहभागी सबै धावक २८ जनवरीमा अफ्रिकाको केप टाउन पुग्नेछन् भने आयोजकले ३० जनवरीमा चार्टर गरिएको विमानमार्फत उनीहरूलाई अन्टार्टिका पुर्‍याउनेछ।

३१ जनवरीमा अन्टार्टिकाबाट सुरु हुने म्याराथन दोस्रो दिन १ फेब्रुअरीमा अफ्रिकाको केप टाउनमा सञ्चालन हुनेछ। तेस्रो म्याराथन २ फेब्रुअरीमा अस्ट्रेलियाको पर्थमा, चौथो म्याराथन ३ फेब्रुअरीमा एसियाको यूएईको दुबईमा, पाँचौँ म्याराथन ४ फेब्रुअरीमा स्पेनको म्याड्रिडमा, छैटौँ म्याराथन ५ फेब्रुअरीमा ब्राजिलमा र सातौँ तथा अन्तिम म्याराथन ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सम्पन्न हुनेछ। धावकहरूले अन्टार्टिकाको माइनस २० डिग्री सेल्सियस तापक्रमदेखि दुबईको करिब २५ डिग्री सेल्सियससम्मको चरम मौसममा दौडिनुपर्नेछ। म्याड्रिडमा तापक्रम करिब ५ डिग्री सेल्सियस रहने अनुमान छ।

यो प्रतियोगितामा सहभागी धावकहरूको लागि होटलमा बासको व्यवस्था गरिएको छैन। एक महादेशमा म्याराथन पूरा गरेपछि उनीहरूले तुरुन्तै अर्को म्याराथनका लागि तयारी गर्नुपर्नेछ। आयोजकले चार्टर गरेको विशेष जहाजमार्फत उनीहरूलाई एक महादेशबाट अर्को महादेशमा लैजाने व्यवस्था गरिएको छ।

स्वास्थ्यका लागि दौडिन सुरु गरेका जोशी सन् २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका उद्देश्यले म्याराथनमा सहभागी हुँदै आएका छन्। उनले संसारका विभिन्न देशमा दुई दर्जनभन्दा बढी म्याराथनमा सहभागिता जनाइसकेका छन्। पछिल्लो चार वर्षमा स्पोन्सरहरूबाट प्राप्त दुई लाख अमेरिकी डलरभन्दा बढी रकम वान स्टेप फाउन्डेसनमार्फत नेपाल, अमेरिका र अफ्रिकाका बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद तथा ज्येष्ठ नागरिकहरूको भोजनका लागि सहयोग गरेका छन्।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी विगत दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्। टेक्सासको ड्यालस–फोर्टवर्थ मेट्रोप्लेक्सअन्तर्गत ग्रेपभाइन सिटीमा बस्ने उनी पेशाले बैंकर हुन्। नेपाल र अमेरिकाको झण्डा बोकेर नेपाली भेषभूषामा दौडिने जोशीले यस प्रतियोगितालाई नेपाली संस्कृति, सम्पदा र नेपालको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने अवसरका रूपमा लिएका छन् अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

विश्वका दुई दर्जनभन्दा बढी म्याराथन पूरा गरेपछि अत्यन्त चुनौतीपूर्ण मानिने वल्र्ड म्याराथन च्यालेञ्जमा सहभागी हुने निर्णय गरेका जोशीले भने, “थोरै समयमै नेपाली भेषभूषा र सम्पदाको विश्वव्यापी प्रचार गर्न यो उपयुक्त अवसर लाग्यो। यही कारण यो म्याराथनमा सहभागी हुँदैछु।”