काठमाडौं — नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको तयारी र त्यसको काउन्टर रणनीतिअन्तर्गत सानेपामा युवा भेला आयोजना गर्ने निर्णय गरेको छ। विशेष महाधिवेशनको उद्घाटन हुन नदिन दबाब सिर्जना गर्ने उद्देश्यसहित २७ पुसमा पार्टी केन्द्रीय कार्यालय सानेपामा युवा–विद्यार्थी भेला गरिने भएको हो।
सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन समूहले उक्त निर्णय गरेको नेताहरूले बताएका छन्। भेलाको संयोजनको जिम्मेवारी नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरूङलाई दिइएको छ।
सभापति देउवासँगको छलफलमा सहभागी केन्द्रीय सदस्य गुरू बरालले युवा भेलाको तयारी भइरहेको पुष्टि गर्दै भने, “२७ गते पार्टी कार्यालयमा युवा–विद्यार्थीको भेला गर्ने निर्णय भएको छ। २८ गतेका कार्यक्रमबारे पनि छलफल हुँदैछ।”
संस्थापन समूह निकट स्रोतका अनुसार २८ पुसमा जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने तयारी भइरहेको छ। उक्त भेलाको समन्वय जिम्मेवारी भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा र बागलुङ कांग्रेसका सभापति जीत शेरचनलाई दिइएको छ।
सभापति देउवासँगको छलफलमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाण, एनपी साउद, जीतजंग बस्नेत र गुरू बराललगायतका नेताहरू सहभागी थिए। साथै, भ्रातृ संगठनका तर्फबाट नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरूङ, नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पा र नेपाल महिला संघकी अध्यक्ष उषा राउतको पनि सहभागिता रहेको थियो।
यसअघि विशेष महाधिवेशन पक्षधर समूहले २७ र २८ पुसमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरिसकेको छ। उनीहरूले महाधिवेशनका लागि भृकुटीमण्डपको बुकिङसमेत गरिसकेको अवस्थामा संस्थापन समूहले समान मितिमा छुट्टै कार्यक्रम घोषणा गरेपछि कांग्रेसभित्रको आन्तरिक राजनीतिक तानातान थप चर्किने संकेत देखिएको छ।
