अकल्यान्ड/ न्युजिल्यान्डको सबैभन्दा ठूलो तथा बहुप्रतीक्षित पूर्वाधार परियोजनामध्ये एक मानिएको न्युजिल्यान्ड अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले पहिलोपटक आफ्ना ढोका सर्वसाधारणका लागि खोलेको छ। करिब १३ वर्षअघि घोषणा गरिएको यो परियोजना अन्ततः पूर्ण भई औपचारिक रूपमा सञ्चालनमा आएको हो।

सन् २०१३ मा सरकारले अकल्यान्डस्थित स्काइ सिटीलाई सम्मेलन केन्द्र निर्माण गर्न अनुमति दिँदै जुवा लाइसेन्सको अवधि थप र थप २३० वटा स्लट मेसिन सञ्चालनको स्वीकृति दिएको थियो। सो सम्झौताअनुसार निर्माण सुरु भए पनि विभिन्न कारणले परियोजना लामो समयसम्म ढिलाइमा परेको थियो।

विशेषगरी सन् २०१९ मा सम्मेलन केन्द्रको छानामा लागेको भीषण आगलागीले निर्माण कार्यलाई ठूलो झट्का दिएको थियो। उक्त आगो निभाउन १० दिनभन्दा बढी समय लागेको थियो। पछि फायर एन्ड इमर्जेन्सी न्युजिल्यान्डको अनुसन्धानले आगलागी छानामा वाटरप्रुफ झिल्ली बिछ्याउने क्रममा भएको दुर्घटनाका कारण लागेको पुष्टि गरेको थियो।

अब पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्रमा एकैपटक ४,००० भन्दा बढी व्यक्ति अटाउन सक्ने क्षमता छ। आगामी तीन वर्षमा यस केन्द्रले न्युजिल्यान्डको अर्थतन्त्रमा वार्षिक करिब ९० मिलियन डलर योगदान गर्ने अनुमान गरिएको छ।

उद्घाटन समारोहका क्रममा प्रधानमन्त्री क्रिस्टोफर लक्सन ले यसलाई “न्युजिल्यान्डका लागि उत्साहजनक दिन” भन्दै सम्मेलन केन्द्रले देशलाई विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्ने बताए। उनले यो केन्द्रबाट अनुमानभन्दा बढी आर्थिक लाभ हुने अपेक्षा समेत व्यक्त गरे।

सम्मेलन केन्द्रकी महाप्रबन्धक प्रु डेली का अनुसार सन् २०२६ का लागि मात्रै १२० भन्दा बढी कार्यक्रम बुक भइसकेका छन्, साथै आगामी वर्षहरूका लागि पनि कार्यक्रमहरूको माग निरन्तर आइरहेको छ। उनले सम्मेलन केन्द्रको सञ्चालनमा दिगोपनलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिँदै वातावरणमैत्री अभ्यासहरू दैनिक सञ्चालनमै समावेश गरिने बताइन्।

लामो प्रतिक्षा, चुनौती र विवादपछि सञ्चालनमा आएको न्युजिल्यान्ड अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले अब अकल्यान्डलाई अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी र ठूला कार्यक्रमको प्रमुख गन्तव्यका रूपमा उभ्याउने अपेक्षा गरिएको छ।


तस्बिर स्रोत: रेडियो न्यूज़िल्यान्ड / पेरिस आइबेल