अकल्यान्ड / बेलायत सरकारको नयाँ सीमा नियम लागू हुन लागेसँगै अन्तर्राष्ट्रिय हुलाक सेवामा अत्यधिक चाप परेपछि न्यूज़िल्यान्ड पोस्ट (एनजेड पोस्ट) को सेवाप्रति ग्राहकहरूले असन्तुष्टि व्यक्त गरेका छन्। विशेषगरी बेलायत पठाइने पासपोर्टसम्बन्धी कागजात ढुवानीमा ढिलाइ हुँदा अग्रिम जानकारी नदिइएको र सेवा शुल्कअनुसारको सेवा नपाएको भन्दै ग्राहकहरूले गुनासो गरेका हुन्।

आगामी फेब्रुअरी २५ देखि बेलायत प्रवेश गर्दा जन्म वा वंशका आधारमा बेलायती नागरिक रहेका व्यक्तिले अनिवार्य रूपमा बेलायती पासपोर्ट वा नागरिकता अधिकार प्रमाणपत्र प्रयोग गर्नुपर्ने नयाँ नियम लागू हुँदैछ। यसका कारण न्यूज़िल्यान्डमा रहेका हजारौँ बेलायती मूलका नागरिकहरूले नयाँ पासपोर्टका लागि कागजात बेलायत पठाउन थालेका छन्। यसले अकल्यान्डबाट बेलायत जाने हुलाक सेवामा अस्वाभाविक चाप सिर्जना गरेको छ।

ग्राहक एनी जेफरसनका अनुसार एक्सप्रेस हुलाक सेवा प्रयोग गर्दा सातदेखि दस दिनभित्र पुग्ने भनिए पनि उनको कागजात दुई सातासम्म जहाजमै नचढेको अवस्था आएको थियो। “सेवामा कति चाप छ भन्नेबारे कुनै जानकारी दिइएन। एक हजार हो कि दस हजार, वा अझ बढी—कुनै स्पष्टता छैन,” उनले गुनासो गरिन्।
उनले भनिन्, “यदि यति ढिला हुने जानकारी पहिले नै दिएको भए म अन्य कुरियर सेवा प्रयोग गर्ने थिएँ।”

एनजेड पोस्टको वेबसाइटमा समेत बेलायततर्फको हुलाक ढिलाइसम्बन्धी कुनै सार्वजनिक सूचना नरहेको देखिएको छ। यद्यपि, जेफरसनले बेलायतबाट मगाएका आफ्ना बाबुको जन्मदर्ता र अभिभावकको विवाह प्रमाणपत्र भने १० दिनभित्रै प्राप्त भएको बताएकी छन्।

जेफरसनले बेलायती नागरिकता प्रमाणित गर्नुपर्ने प्रक्रियाप्रति पनि असन्तोष व्यक्त गरिन्। “म न्यूज़िल्यान्ड पासपोर्टमै यात्रा गर्न चाहन्थेँ, तर बेलायत पुगेपछि फर्काइने जोखिम लिन चाहिनँ,” उनले भनिन्।

यस विषयमा रेडियो न्यूज़िल्यान्ड (आरएनजेड) ले बेलायती उच्चायोगसँग प्रश्न गर्दा उच्चायोगका प्रवक्ताले भने, “यदि कोही व्यक्ति बेलायती नागरिक हो भने उसले बेलायती नागरिककै रूपमा यात्रा गर्नुपर्छ। नागरिकता जटिल हुन सक्ने भएकाले यात्रा अघि नै आफ्नो स्थिति पुष्टि गर्नु सबैभन्दा सुरक्षित उपाय हो।”

अर्का एक ग्राहकले पनि पासपोर्ट ढुवानीमा भएको ढिलाइका कारण मानसिक तनाव झेलेको बताएका छन्। उनकी दिदी बेलायतमा क्यान्सरबाट पीडित रहेकाले तत्काल जानुपर्ने भए पनि पासपोर्ट नआउँदा अन्योलमा परेको उनले बताए। एनजेड पोस्टका कर्मचारीले उनको आवेदन करिब दुई हजारवटा आवेदनमध्ये एक भएको जानकारी दिएको उनको भनाइ छ।

गुनासोपछि एनजेड पोस्टले इमेलमार्फत माफी माग्दै आधा सेवा शुल्क फिर्ता दिने प्रस्ताव गरेको छ। इमेलमा भनिएको छ, “बेलायत जाने पासपोर्टसम्बन्धी हुलाकमा यति ठूलो चाप पर्छ भन्ने कुरा सबै आवेदन एकैपटक प्रणालीमा प्रवेश गरेपछि मात्र स्पष्ट भयो।”

जनवरी २९ मा पठाइएको कागजात फेब्रुअरी २० मा मात्र पुग्ने अनुमान गरिएको छ। ती ग्राहकले रकम फिर्ता लिन अस्वीकार गर्दै भनेका छन्, “पैसाले पासपोर्ट छिटो आउँदैन। यति धेरै आवेदन हुँदा पनि सेवा क्षमतामा वृद्धि नगर्नु चिन्ताजनक हो।”

आरएनजेडले यस वर्ष हुलाक माग कति बढेको हो, कति पासपोर्ट आवेदनहरू ह्यान्डल गरिएका छन् र अन्य प्रभावित ग्राहकलाई पनि फिर्ता रकम उपलब्ध गराइने कि नदिइने भन्ने विषयमा एनजेड पोस्टसँग औपचारिक प्रतिक्रिया मागेको जनाएको छ।

समाचार स्रोत: रेडियो न्यूज़िल्यान्ड (RNZ)
इमिग्रेसन संवाददाता: गिल बोनेट