लगातारको भीषण वर्षाले न्युजिल्याण्डको राजधानी वेलिङ्टनका विभिन्न क्षेत्रमा आएको बाढीले आतंक मच्चाएको छ। सो क्षेत्रमा आइतबार र सोमबार भारी वर्षा भएको थियो। भारी वर्षाका कारण आएको बाढीले त्यहाँका सडक तथा घरहरू डुबानमा परेका छन् भने केही स्थानमा पहिरो खसेको छ। बाढीले केही सवारीसाधन बगाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ब्रुकलिन, बेरहम्पोर, माउन्ट कुक, ओहिरो रोड र बेसिन रिजर्भ आसपासका क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीका कारण सहरभित्रको स्टेट हाइवे १ को टेरेस टनेलदेखि बेसिन रिजर्भसम्मको भागमा आवागमन प्रभावित भएको छ भने केही स्थानमा सवारीसाधन फर्काइएको छ।

बेरहम्पोर र ब्रुकलिन क्षेत्रबाट बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय बासिन्दाहरूले सडकमा “नयाँ नदी बगेजस्तै” अवस्था देखिएको बताएका छन्, जसले बाढीको गम्भीरता झल्काउँछ।

मौसम विभागले वेलिङ्टन, हट भ्याली, तारारुआ रेञ्ज, वैरारापा लगायतका क्षेत्रका लागि ‘ओरेन्ज हेभी रेन वार्निङ’ जारी गरेको छ। सोमबारदेखि मंगलबारसम्म ती क्षेत्रमा ८० देखि १२० मिलिमिटरसम्म वर्षा हुन सक्ने र केही स्थानमा २५० मिलिमिटरसम्म पानी पर्न सक्ने चेतावनी दिइएको छ। साथै तीव्र हावाको सम्भावनासहित ‘स्ट्रङ्ग विन्ड वाच’ पनि जारी गरिएको छ।

यसैबीच, लो–प्रेसर प्रणाली सक्रिय रहँदा लोअर नर्थ आईल्याण्डका विभिन्न क्षेत्रमा बाढीपछि सरसफाइ र क्षति व्यवस्थापनको काम जारी रहेको छ। अधिकारीहरूले अनावश्यक यात्रा नगर्न, पानीको सतह बढेमा तुरुन्त सुरक्षित स्थानमा सर्न र आधिकारिक चेतावनी नपर्खी सतर्क रहन आग्रह गरेका छन्। फोटो आरएनजेड