न्युजिल्याण्डका उपप्रधानमन्त्री विन्स्टन पीटर्सले यस साता भएको प्रधानमन्त्री क्रिस्टोफर लक्सनको नेतृत्वसम्बन्धी नेशनल पार्टीका सांसदहरूबीच भएको गोप्य मतदानप्रति असन्तुष्टि जनाएका छन् । साथै, उनले यसबारेमा प्रधानमन्त्री लक्सनले मतदानअघि आफूलाई जानकारी नदिएको भन्दै रोष प्रकट गरेका छन् ।
त्यसअघि लक्सनले आफ्नो पदबारे सञ्चारमाध्यममा तीव्र अड्कलबाजी भइरहेकाले मंगलबारको मतदानले त्यसलाई अन्त्य गर्ने बताएका थिए । उनी मतदानमा सफल पनि भए ।
पीटर्सले यस्तो कदम सत्तारूढ प्रधानमन्त्रीबाट आएको “अभूतपूर्व” निर्णय भएको भन्दै यसले भविष्यमा असर पार्न सक्ने चेतावनी दिएका छन् । सरकारको स्थायित्व कायम राख्न यस्ता निर्णय उपयोगी नहुने उनको धारणा छ । उनले सरकारलाई यथाशीघ्र जनताका मुख्य समस्यामा केन्द्रित हुन आग्रह गर्दै मूल्यवृद्धि जस्ता विषयमा ध्यान दिनुपर्ने बताएका छन् ।
फोटो आरएनजेड
