काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामाबारे गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्वार्थको द्वन्द्व नहोस् र आफूविरुद्ध निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद त्याग गरेको बताएका छन् । उनले रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने उल्लेख गरेका छन् ।

गुरुङको विवादित व्यापारी दीपक भट्टसँग साझेदारी रहेको तथ्य बाहिरिएपछि उनीमाथि आलोचना बढेको थियो। यसअघि सार्वजनिक गरिएको सम्पत्ति विवरणमा पनि अस्वाभाविकता देखिएको भन्दै प्रश्न उठ्दै आएका थिए । साथै, माइक्रो इन्स्योरेन्स लगायत क्षेत्रमा गरेको लगानी र सामाजिक संस्थामार्फत आएको सहयोग रकम व्यक्तिगत खाताबाट कारोबार गरेको विषयले पनि विवाद चर्किएको थियो ।

सरकार गठन भएको २६ दिनमै गुरुङले पदबाट राजीनामा दिएका हुन्। प्रारम्भिक चरणमा उच्च पदस्थ कर्मचारी पक्राउ गरेर चर्चा कमाएका उनी पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।

प्रधानमन्त्री बालेन्द्र शाहले हाललाई गृहमन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार नयाँ मन्त्री नियुक्त नभएसम्म उक्त जिम्मेवारी प्रधानमन्त्री मातहत रहनेछ ।