काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचन सम्पन्न भए पनि अन्तिम मतपरिणाम बिहीबार मध्यरातसम्म सार्वजनिक हुन सकेन। विदेशबाट प्राप्त मतको प्रमाणीकरण र समायोजनको काम जारी रहेकाले नतिजा घोषणा ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका उपप्रमुख राम गुरुङ ले विद्युतीय मतदानबाट उम्मेदवारहरूले प्राप्त गरेको मत सार्वजनिक गरे पनि विदेशबाट अनलाइनमार्फत खसेका मत समावेश नगरेको जानकारी दिए। उनले अन्तिम मतपरिणाम सबै मतको प्रमाणीकरणपछि मात्र सार्वजनिक गरिने बताए।

उनका अनुसार विद्युतीय प्रणाली र अनलाइन माध्यमबाट प्राप्त मतको परीक्षण तथा प्रमाणीकरण भइरहेको छ। “प्रविधिमैत्री प्रणालीमार्फत भएको मतदानको मूल्यांकन र प्रमाणीकरणका कारण अन्तिम नतिजा सार्वजनिक गर्न केही समय लागेको हो,” उनले भने।

रास्वपाको विधानअनुसार यस निर्वाचनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। ३७९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रतिनिधित्व समावेशी सिद्धान्त र २०७८ सालको जनगणनाको जनसंख्या अनुपात का आधारमा निर्धारण गरिएको छ।

खुलातर्फ सातै प्रदेशबाट पाँच–पाँच जना गरी ३५ जना निर्वाचित हुने व्यवस्था छ भने बाँकी ९९ सदस्य महिला, आदिवासी जनजाति, मधेसी, दलित तथा अन्य समावेशी समूहबाट चयन गरिनेछ। जनसंख्या अनुपातअनुसार खस–आर्य, आदिवासी जनजाति, मधेसी र दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गरिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन बुधबार रातिदेखि सुरु भई बिहीबार दिनभर सञ्चालन भएको थियो। नेपालभित्रका मतदाताले विद्युतीय प्रणालीबाट मतदान गरेपछि विदेशमा रहेका पार्टी सदस्यका लागि अनलाइन एपमार्फत मतदानको व्यवस्था गरिएको थियो।

रास्वपा प्रवक्ता मनीष झाले का अनुसार केन्द्रीय सदस्य निर्वाचनमा ३ हजार ८५९ मतदातामध्ये २ हजार ९५९ जना अर्थात् ७६.८० प्रतिशत ले मतदान गरेका छन्। विदेशमा रहेका थप १६३ जना मतदाता पनि मतदानमा सहभागी भएका थिए। यद्यपि विदेशबाट कति मत खसे भन्ने विवरण अझै सार्वजनिक गरिएको छैन।

यसैबीच, पार्टी सभापति पदमा रवि लामिछाने एक्ला उम्मेदवार रहेकाले उनी निर्विरोध निर्वाचित भएका छन्। यद्यपि पार्टीले यसको औपचारिक घोषणा गर्न बाँकी रहेको छ। उनको उम्मेदवारी प्रस्ताव बालेन्द्र शाह ले गरेका थिए भने ५१ जनाले समर्थन गरेका थिए।

विधान संशोधनपछि रास्वपाले १५८ सदस्यीय केन्द्रीय समिति गठन गर्ने व्यवस्था गरेको छ। यसमा १९ जना पदाधिकारी, सात जना प्रदेश अध्यक्ष पदेन सदस्य रहनेछन् भने बाँकी सदस्यहरू सभापतिले मनोनयन गर्नेछन्।

निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट छ जना पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनेछन् भने वरिष्ठ उपसभापतिसहित अन्य पदाधिकारी सभापतिले मनोनयन गर्ने व्यवस्था छ।

केन्द्रीय सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक नभएसम्म पदाधिकारी पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु नहुने जनाइएको छ। निर्वाचन आयोगले सबै मतको प्रमाणीकरण सम्पन्न भएपछि अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।