काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपबारे आगामी चैत २६ गतेभित्र अनुसन्धान नसकिए थुनामुक्त गर्न आदेश दिएको छ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दिएको आदेशअनुसार उनीहरूमाथिको अनुसन्धान चैत २६ गतेभित्र सम्पन्न गर्नुपर्नेछ। सो अवधिमा अनुसन्धान पूरा नभए उनीहरूलाई थुनामुक्त गर्नुपर्ने उल्लेख गरिएको छ।
सर्वोच्चले फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पूरा गरी आवश्यक परे हिरासतबाहिर राखेर थप अनुसन्धान अघि बढाउन सकिने व्यवस्था पनि उल्लेख गरेको छ।
भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नगरेको आरोपमा ओली र लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो।
प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्दै जिल्ला अदालत काठमाडौंको अनुमति लिएर दुवैलाई हिरासतमा राख्दै आएको छ।
