हक्स बे क्षेत्रीय काउन्सिलले नयाँ सार्वजनिक यातायात सञ्जालको सुरुआतसँगै यात्रुलाई आकर्षित गर्न एक हप्तासम्म निःशुल्क बस यात्रा सुविधा उपलब्ध गराउने भएको छ।
जनवरी २५ देखि ३१ सम्म लागू हुने निःशुल्क यात्राका क्रममा यात्रुले नेपियर, हेस्टिङ्स र हेभलक नर्थ क्षेत्रमा विस्तार गरिएको नयाँ बस रुटको अनुभव गर्न सक्नेछन्। पहिलोपटक हक्स बे विमानस्थल र क्षेत्रीय खेलकुद पार्कसम्म सार्वजनिक यातायात सेवा सञ्चालन हुनेछ भने हक्स बे अस्पताल र ईआईटीसम्म जाने सेवामा पनि थप जडान विस्तार गरिएको छ।
काउन्सिलका अनुसार नयाँ सञ्जालले करिब दुई दशकयताकै सबैभन्दा ठूलो सार्वजनिक यातायात सुधार प्रतिनिधित्व गर्छ। यसअघि सञ्चालनमा रहेको ‘माइवे’ परीक्षण सेवा जनवरी २३ बाट अन्त्य हुँदैछ।
ट्रान्सपोर्ट कमिसनका अध्यक्ष नील किर्टनले नयाँ सञ्जालले यात्रालाई अझ सहज, छिटो र भरपर्दो बनाउने विश्वास व्यक्त गर्दै नागरिकलाई निःशुल्क यात्राको अवसर उपयोग गर्न आग्रह गरेका छन्।
क्षेत्रीय काउन्सिलले जटिल घुम्ती रुट हटाएर प्रत्यक्ष र बुझ्न सजिला रुट सञ्चालन गरेको जनाएको छ। करिब १०० नयाँ बस स्टप थपिँदा करिब एक लाख बासिन्दा आफ्नो घर नजिकैबाट बस सेवा लिन सक्ने भएका छन्।
यद्यपि, केही स्थानमा नयाँ बस स्टप राख्ने विषयलाई लिएर स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन्। काउन्सिलले आपत्ति आएका स्थानमा स्थानीयसँग छलफल गरेर समाधान निकाल्ने जनाएको छ।
