संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा महासभाबाट स्वीकृत नियमित तथा शान्ति सुरक्षा बजेटमा योगदान गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्रअनुसार अमेरिका सहित सबै सदस्य राष्ट्रको कानुनी दायित्व रहेको उल्लेख गरिएको छ। उहाँले सदस्य राष्ट्रले दिएको जनादेशअनुसार संयुक्त राष्ट्रका सबै निकायले आफ्नो काम निरन्तरता दिने र विश्वभरका नागरिकको सेवामा दृढतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
ह्वाइट हाउसले संयुक्त राष्ट्रका ३१ वटा एजेन्सी तथा दर्जनौँ अन्तर्राष्ट्रिय संस्थाबाट सदस्यता फिर्ता लिने तयारी गरेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार संयुक्त राष्ट्र जनसङ्ख्या कोष, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सनको सचिवालयलगायतका संस्थामा अमेरिकी सहभागिता र कोष रोक्ने व्यवस्था गरिएको छ।
यस निर्णयप्रति प्रतिक्रिया जनाउँदै संयुक्त राष्ट्र जलवायु सम्मेलनका कार्यकारी सचिव साइमन स्टिलले जलवायु सहयोगबाट पछि हट्दा अमेरिकी अर्थतन्त्र, रोजगारी र जीवनस्तरमा नकारात्मक असर पर्ने चेतावनी दिनुभएको छ। उहाँले जङ्गली आगो, बाढी र आँधीबेहरीजस्ता प्राकृतिक प्रकोपले ऊर्जा, खाद्यान्न, यातायात र बिमाको लागत बढाउने उल्लेख गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सहकार्यबाट विश्वव्यापी हितका लागि काम गर्न निरन्तरता दिने र भविष्यमा अमेरिका पुनः सहकार्यमा फर्कने ढोका खुला रहने बताएको छ।
