स्वस्थ व्यक्तिले स्वास्थ्य बिमा नगर्ने वा नवीकरणमा चासो नदेखाउने प्रवृत्ति बढ्दै जाँदा स्वास्थ्य बिमा कार्यक्रम कमजोर बन्दै गएको छ । दीर्घरोग लागेपछि मात्र बिमा गर्ने गलत अभ्यासले बोर्डलाई चुनौती थपिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले सबै नागरिक बिमामा आबद्ध भए कार्यक्रम सहज हुने बताउनुभयो । एक दशकमा सुधार भए पनि दीर्घरोगी, क्यान्सर, मिर्गौला, मधुमेह, दमजस्ता बिरामीमै बिमाको मुख्य भार रहेको उहाँको भनाइ छ ।
हाल स्वास्थ्य बिमामा ४५ प्रतिशत आबद्ध भए पनि सक्रिय बिमित ३३ प्रतिशत मात्रै छन् । आर्थिक वर्ष २०८०/८२ मा नवीकरण दर ८० प्रतिशत पुगेको छ । जनसङ्ख्या कभरेज ३३ प्रतिशत छ भने सेवा उपयोग दर ४१ प्रतिशत पुगेको बोर्डले जनाएको छ ।
भुक्तानीमा सुधार भए पनि सेवाग्राहीले झन्झट, ढिलो भुक्तानी, गुणस्तरीय सेवा अभाव, डिजिटल प्रणाली र जनशक्ति कमीका समस्या भोग्दै आएका छन् । कार्यक्रम ७७ जिल्लामा विस्तार भए पनि सबै नागरिक समेटिन सकेका छैनन् ।
बोर्ड अध्यक्ष चन्द्र थापाले प्रहरी, सेना, शिक्षकजस्ता औपचारिक क्षेत्रलाई बिमामा जोड्नुपर्ने बताए । स्वास्थ्य सचिव डा. देवकोटाले सर्वव्यापी स्वास्थ्य पहुँचका लागि सबै सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
