काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएलगत्तै वैकल्पिक राजनीतिक शक्तिहरू एक हुनुपर्ने विषयले थप चर्चा पाएको छ । यद्यपि रवि–बालेन एक हुँदा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने हाल अलग देखिएका छन् । तर, उनी पनि छिट्टै समेटिने विश्वास रास्वपाले गरेको छ ।
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सबै वैकल्पिक शक्तिहरू एक भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे पनि एकताको सम्भावना भने टरेको छैन । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सके एकता र नसके कार्यगत एकता गरेर भए पनि सहकार्य आवश्यक रहेको बताए ।
“सही नेतृत्व र वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ । सकेसम्म एकता, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं,” उनले भने, “नयाँ र मूलधारका सबै शक्तिहरू एक भएर जान म आह्वान गर्छु ।”
नेपाली जनताको चाहना पनि वैकल्पिक शक्तिहरू एक भएर नयाँ नेतृत्व दिने रहेको घिसिङको भनाइ छ । उनले वर्तमान राजनीतिक अवस्थामा जनभावना बुझेर अघि बढ्नुपर्नेमा जोड दिए ।
रवि लामिछाने र बालेन शाहबीच सहमति भएकै दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले यसअघि बालेनसँग एकता र सहकार्यबारे छलफल अघि बढाए पनि अहिले रवि–बालेन एक हुँदा कुलमान भने सहकार्यबाट बाहिर रहेका छन् ।
घिसिङले उज्यालो नेपाल पार्टी सम्मान, आत्मसम्मान र स्वाभिमान कायम राख्दै सबैसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । सहकार्यका लागि गृहकार्य भइरहेको र केही दिनमै सकारात्मक नतिजा आउने विश्वाससमेत उनको थियो ।
