पोखराबाट झण्डै करिब घण्टाको यात्रामा स्याङ्जाको पुतलीबजार पुगिन्छ । यतिबेला पुतलिबजार इतिहास, संस्कृति र प्रकृतिको अद्वितीय संगमका रूपमा परिचित हुँदै आएको छ। श्रवणकुमारको समाधिस्थल, अन्धाअन्धी दहबाट बग्ने पवित्र आँधीखोला, बाडखोला, अरौदीखोला, राङखोला, पिउरीखोला, सुरौदीखोला, दरौखोला र बैदीखोला जस्ता नदी–खोलाले नगरलाई अधिक आकर्षक बनाएका छन्। पोखराबाट पुतलीबजारतर्फको यात्रा गर्दा सिद्धार्थ राजमार्गको भालुपहाडनजिकै उभिएको प्रवेशद्वारझैँ देखिने स्थानले हिमशृङ्खलाको मोहक दृश्य पस्किन्छ। यहाँबाट धवलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिमाल सुन्दर पृष्ठभूमि बनेर देखिने भएकाले पर्यटक, युवक–युवती र साहित्य सामग्री उत्पादन गर्ने स्रष्टाहरूका लागि यो स्थान रमाइलो ‘स्पट’ बन्न पुगेको छ।

फूलबारी पार्क, स्याङ्जा भ्यु प्वाइन्ट र हरियाली उद्यान पार्क वनभोज र तस्बिरकै लागि मात्र होइन, पुरानो पुतलीखेत बजारदेखि गुडीखोला र श्री १००८ चम्पागिरि सन्न्यास आश्रमजस्ता आध्यात्मिक स्थलसमेत सहजै घुम्न सकिने ठाउँ हुन्। यहाँ स्थित धनुषेश्वर महादेव मन्दिर विसं १९८३ तिर श्री १००८ गुरुमहाराज धिर्जे गिरीले स्थापना गरेको मानिन्छ। हालै यसको तामाको छाना, कलात्मक ढोका–झ्यालसहित जीर्णोद्धार भएपछि यहाँको धार्मिक गरिमा अझ बढेको छ।

पुतलीबजार धार्मिक सहिष्णुताको सुन्दर उदाहरण पनि हो। स्याङ्जा बजारको शिरमा एकै ठाउँमा राममन्दिर, साई केन्द्र, बौद्ध गुम्बा र अहले सुन्नत जामे मस्जिद अवस्थित छन्। फरक धर्मावलम्बीले आ–आफ्नो आस्थाअनुसार पूजाआजा गर्ने यो स्थान सांस्कृतिक मेलमिलापको जिउँदो पहिचान बनेको छ।

नेपालकै प्रसिद्ध सतौँ चण्डी मन्दिर यहाँको अर्को ऐतिहासिक धरोहर हो। बाइसेचौबिसे राज्यकालमा पश्चिमका सबैभन्दा शक्तिशाली मध्ये एक ठहरिएको यो स्थानमा चण्डी र कालिका गरी दुई मन्दिर छन्, जसको इतिहास करिब छ सय वर्ष अगाडिको मानिन्छ। नजिकै रहेको खर्सुको लेक समुद्री सतहदेखि २१०० मिटर उचाइमा अवस्थित छ, जहाँबाट नगरका पुराना कुटी, भग्नावशेष र धार्मिक स्थलहरूको पुरातात्त्विक गहनता अनुभूत हुन्छ।

वडा नं। ८ को बहाकोटमा रहेको कालिका मन्दिरसँग जोडिएको किंवदन्ती रोचक छ। बाघ–बघिनी सिकार गरिएको ठाउँमा भोलिपल्ट कुश्मावती र कण्ठावती नामका दुई दिदीबहिनी उत्पत्ति भएको, ती विलीन भएपछि सोही स्थानमा कालिकाको मन्दिर स्थापना गरिएको मानिन्छ। बडादसैँको नवमी र चैतेदसैँको अष्टमीमा यहाँ विशेष पूजा हुने परम्परा छ।

वडा नं। ९ मा रहेको कोल्मा पर्यटकीय सम्भावनाले भरिएको गाउँ हो। १४०० मिटर उचाइमा अवस्थित कोल्माकोट मन्दिरबाट धवलागिरि, माछापुच्छ्रे र अन्य हिमशृङ्खलाको सुन्दर दृश्य देखिन्छ। यहाँका इको–होमस्टेमा अर्गानिक खाना, परम्परागत शैलीको बसोबास, सालैजो र घाटु नृत्यको अनुभव लिन पाइने भएकाले यो गाउँ अहिले पर्यटकको रोजाइमा परिरहेको छ। कोल्मा बराहचौर खेलमैदान, मिलेनियम ट्रेकको रुट, बौद्ध गुम्बा र कैलाश गुफाले यस क्षेत्रमा खेल तथा धार्मिक पर्यटनलाई थप मजबुत बनाएका छन्।

नगरको गोरुजुरेमा रहेको शीतलादेवी मन्दिर, पौवैगौडेको हरिहर मन्दिर, मिर्मिरे क्षेत्रका शिवपञ्चाङ्ग र राधाकृष्ण मन्दिर, नागेश्वरधाम र वडा नं। १४ को पाणिनि गुरुकुल आश्रम धार्मिक तथा सांस्कृतिक सम्पदाका जीवित नमुनाहरू हुन्। टक्सार क्षेत्र बाइसेचौबिसेकालमा सिक्का छापिने स्थान थियो भन्ने इतिहासले पुतलीबजारलाई झनै महत्वपूर्ण बनाउँछ।

पुतलीबजार साहसिक पर्यटनको आकर्षण बन्दै गएको छ। पेल्काचौरको ओलपहरोमा ‘रक क्लाइम्बिङ’, सतौँकोट, खर्सुको लेक, हुनीकोट र पेल्काचौर क्षेत्रबाट ‘प्याराग्लाइडिङ’, आँधीखोलामा ‘र्‍याफ्टिङ’ सम्भावना बोकेका क्रियाकलाप हुन्। घलमडाँडा वनभोजका लागि लोकप्रिय छ भने भारकोटको बुद्धस्तूपा र ध्यानकेन्द्र तथा ठुलाडिहीमा निर्माणाधीन ताल भविष्यमा पर्यटनका नयाँ गन्तव्य बन्ने सम्भावना राख्छन्।

हुनीकोट, साँदीखोला, भैँसेडाँडा, चिरुवा, विम्दी ढाँडे, कोल्मा पोखरीछाप र चन्द्रकोट होमस्टेले गाउँले जीवन, स्थानीय खानपान र प्राकृतिक रमणीयताको अनौठो मिश्रण पर्यटकलाई अनुभव गराइरहेका छन्। ११२० मिटर उचाइमा रहेको हुनीकोटबाट ‘ह्वाइट लेक’, उदाउँदो–अस्ताउँदै सूर्य, नागबेलीझैँ बगेको आँधीखोला, स्याङ्जा बजार र हिमशृङ्खलाको दृश्यले जो–कोहीलाई मोहित बनाउँछ।

हलहले, सातधारा गुफा, चण्डीथान, नागेश्वरधाम, बडा मन्दिर तथा विभिन्न धार्मिक स्थलहरूको संरक्षण र प्रचार–प्रसारसँगै पुतलीबजार धार्मिक तथा प्राकृतिक पर्यटनको केन्द्रको रूपमा स्थापित हुँदै छ। नगरप्रमुख तुलसीराम रेग्मीका अनुसार त्रिवेणीघाटलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउने योजना अघि बढेको छ, जसबाट पोखरा आउने पर्यटकलाई स्याङ्जासम्म आकर्षित गर्ने लक्ष्य लिइएको छ।

बर्खामा हरियालीले निथु्रक्क भिजेको र घाम लाग्दा टल्किएको यसको भू–सौन्दर्य, चराहरूको चिरबिर, फूलको सुगन्ध, सुन्तला र कफीका बगैँचाले दिएको ताजगी र फरक समुदायबीचको आत्मीयताले पुतलीबजारलाई सुन्दर, सुगन्धित र सम्भावनायुक्त नगरको रूपमा निरन्तर उभ्याइरहेको छ।