काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै पक्षबाट तयारी अवस्थामा रहेको बताएका छन्।

निर्वाचनको दिन नजिकिँदै जाँदा—अब ९० दिन मात्र बाँकी रहँदा—राष्ट्रिय समाचार समितिलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सरकारसँग आवश्यक प्रबन्धको माग गरिएकामा सबै व्यवस्था सुनिश्चित हुन थालेको र आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार काम तीव्र गतिमा अघि बढिरहेको छ। उनका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू, मन्त्री तथा सुरक्षा निकायका प्रमुखहरूलाई आयोगको तयारीबारे स्पष्ट रूपमा जानकारी गराइ सकिएको छ ।
भण्डारीले निर्वाचनका लागि बजेटमा देखिएको केही अपुरोपनाबारे अर्थ मन्त्रालयले माग तथा खर्चको आधारमा थप रकम उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै भने, “अब हामी नियमित कार्यक्रम अगाडि बढाउँछौँ। यसबारे सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट बताइसकेका छौँ।”

आयोगले निर्वाचनका लागि करिब रु ७ अर्ब बजेट माग गरेको थियो। अर्थ मन्त्रालयले यसअघि नै रु ५ अर्ब ९६ करोड उपलब्ध गराइसकेको छ। साथै, आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूलाई निवेदन पेश गर्न आग्रह गरेको छ। यसअघि मङ्सिर १४ गतेसम्म १२० दलले निवेदन दर्ता गराइसकेका छन्।