नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भदौ अन्तिम साता भएको ‘जेनजी विद्रोह’पछि मुलुकमा ठूलो परिवर्तन आएको उल्लेख गर्नुभयो। उक्त परिवर्तनमा पार्टीको भूमिका कस्तो रह्यो भन्ने विषयमा गम्भीर समीक्षा गर्न नीति र नेतृत्व दुवै फेर्नुपर्ने उहाँको भनाइ थियो।

थापाले पार्टी विधान पालना गर्दा पार्टी विभाजनतर्फ जान्छ भन्ने हल्ला किन फैलाइँदैछ भन्दै संस्थापन पक्षलाई प्रश्न गर्नुभयो। उहाँले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर सङ्कलन भइसकेको र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने स्पष्ट पार्नुभयो।

“भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै होइन,” भन्दै उहाँले भन्नुभयो, “भदौ २३ र २४ पछि ठूलो परिवर्तन भयो। त्यो परिवर्तन किन भयो, कसरी भयो, यसमा हाम्रो भूमिका के रह्यो, कहाँ सही र कहाँ गलत भयो भन्ने विश्लेषण गरौँ। नीति पनि फेरौँ, नेता पनि फेरौँ। त्यसका लागि विशेष महाधिवेशन गरौँ। नियमित महाधिवेशन मंसिरमा हुन नसकेपछि विशेष महाधिवेशन मागिएको हो।”

उहाँले पार्टीमा युवा महामन्त्री आएपछि आफूहरूलाई स्वीकार नगरिएको गुनासो व्यक्त गर्नुभयो। साथै, पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको निमन्त्रण सन्देश पठाइएको जानकारी दिनुभयो।