राहदानीको चरम अभाव पूर्ति गर्दै राहदानी विभागले डेढ महिनाको अवधिमा झन्डै चार लाख विद्युतीय राहदानी छपाइ गरेर वितरण गरेको छ। तत्कालका लागि समस्या समाधान भए पनि फागुनदेखि नयाँ कम्पनीबाट नयाँ राहदानी छपाइ सुरु हुन नसक्ने अवस्था देखिँदा फेरि अभावको जोखिम कायमै रहेको विभागले जनाएको छ।
विद्युतीय राहदानीको सङ्क्रमणकालीन व्यवस्थापन अन्तर्गत भएको सम्झौताअनुसार हालसम्म तीन लाख ९६ हजार राहदानी छपाइ भइसकेको छ। गत मङ्सिर ५ गते फ्रान्सको आइडिमिया कम्पनीसँग सात लाख राहदानी छपाइ गर्ने सम्झौता गरिएको थियो।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार करिब डेढ महिनाको अन्तरालमा झन्डै चार लाख विद्युतीय राहदानी छपाइ भएर वितरण भइसकेको छ। उहाँका अनुसार अझै करिब एक लाख राहदानी एक–दुई दिनभित्रै छपाइ भएर आउने क्रममा छन्। त्यसपछि दुई लाख ७३ हजार ८१४ थान राहदानी मौज्दात रहनेछ।
बुधबारसम्म दुई लाख ६४ हजार ४८१ थान राहदानी सम्बन्धित जिल्ला तथा एकाइमा पठाइसकिएको छ। पुस १५ गतेसम्म आवेदन दिएका सबैलाई समेटेर शुक्रबारसम्म थप एक लाखभन्दा बढी राहदानी पठाउने तयारी विभागले गरेको छ। यससँगै हालसम्म आवेदन दिएका सबैले राहदानी पाउने अर्यालले जानकारी दिनुभयो।
विभागले राहदानी वितरण सहज बनेको दाबी गर्दै अत्यावश्यक सेवाअन्तर्गत आवेदन दिनेले पनि अब तीन दिन कुर्नु नपर्ने र भोलिपल्टै राहदानी पाउने व्यवस्था गरिएको जनाएको छ। वितरण सहज भएसँगै विभाग र ७७ वटै जिल्ला तथा इलाका प्रशासन कार्यालयमा देखिएको भीडसमेत घटेको छ।
फागुनदेखि नयाँ राहदानी छपाइ अनिश्चित
आउँदो फागुनदेखि नयाँ कम्पनीमार्फत विद्युतीय राहदानी छपाइ प्रक्रिया सुरु गर्ने गरी सम्झौता भइसकेको भए पनि मेसिन र प्रविधि जडानमा दुईदेखि तीन महिना लाग्ने भएकाले फागुनमै छपाइ सुरु हुन नसक्ने सम्भावना छ। यसले फेरि राहदानीको अभाव देखिन सक्ने जोखिम बढाएको छ।
नयाँ कम्पनीले आफ्नै मेसिन र प्रविधिबाट पुरानो प्रणाली प्रतिस्थापन गर्नुपर्ने भएकाले जडान प्रक्रिया जटिल हुने विभागको भनाइ छ। सबै काम सहज रूपमा भएमा चाँडो सुरु हुन सक्छ तर प्राविधिक समस्या आएमा थप समय लाग्ने महानिर्देशक अर्यालले बताउनुभयो।
हालको मौज्दात आगामी दुई महिनासम्मका लागि पुग्ने अनुमान गरिएको छ। विभागका अनुसार दैनिक पाँचदेखि छ हजार थान राहदानी छपाइ तथा वितरण हुने गरेको छ। त्यसअनुसार माघ र फागुन महिनाका लागि करिब तीन लाख ६० हजार राहदानी आवश्यक पर्छ। अहिलेको मौज्दात दुई लाख ७३ हजारले पुगनपुग हुने देखिन्छ।
यदि चैत महिनामा पनि नयाँ राहदानी छपाइ सुरु हुन सकेन र माग बढिरहेमा फेरि अन्तरिम उपाय खोज्नुपर्ने अवस्था आउन सक्ने विभागको आँकलन छ। यद्यपि अबको समयमा माग क्रमशः घट्ने अनुमान विभागले गरेको छ।
विभागले प्याकेज १ र २ अन्तर्गत दुई वटा जर्मन कम्पनीसँग नयाँ राहदानी छपाइको सम्झौता गरेको छ। प्याकेज १ अन्तर्गत मिउलवाउर आइडी सर्भिस गिम्भ कम्पनीले पूर्वदर्ता, दर्ता र तथ्याङ्क व्यवस्थापनसहितको राहदानी प्रणाली सञ्चालन गर्नेछ। प्याकेज २ अन्तर्गत भेरिडोस गिम्भ कम्पनीले राहदानी पुस्तिका छपाइ, गुणस्तर नियन्त्रण र प्याकिङको जिम्मा लिनेछ।
उनीहरूले आफ्नै प्रविधि नेपालमै स्थापना गरेर काम गर्ने भएकाले नमुना छपाइ र परीक्षण प्रक्रियासमेत जटिल हुने विभागले जनाएको छ। त्यसैले आगामी केही महिना राहदानी आपूर्ति व्यवस्थापन विभागका लागि चुनौतीपूर्ण बन्ने देखिएको छ।
