काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा बस्ने केही नेपालीहरूबाटै नेपालप्रति नकारात्मक प्रचार गरिरहेको आरोप लगाएका छन् । नेपालमा लगानीका ठूलो सम्भावना हुँदाहुँदै पनि ‘अब नेपालमा केही सम्भावना छैन’ भन्ने गलत भाष्य सिर्जना गरी सामाजिक सञ्जालमार्फत नकारात्मक भावना फैलाइएको उनको आरोप थियो ।
नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवद्र्धनका लागि आयोजित “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन” विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो नकारात्मक प्रचारलाई चिर्दै अघि बढ्न आवश्यक रहेको बताए ।
उनले आन्तरिक पुँजी परिचालनमार्फत नेपालमै धेरै ठूला परियोजना सञ्चालन गर्न सकिनेमा जोड दिँदै महासंघले त्यसकै लागि १० अर्ब रुपैयाँ बराबरको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरेको जानकारी दिए । निजी क्षेत्रको एडभोकेसी गर्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको उनले स्पष्ट पारे ।
“नेपालमा धेरै सम्भावना हुँदाहुँदै पनि हामीले नकारात्मक पक्षको मात्रै प्रचार गर्यौँ । नेपालमा केही छैन भन्ने भाष्य तोड्न जरुरी छ,” उनले भने, “नेपालकै पुँजी परिचालन गरेर पनि ठूला आयोजना सम्भव छन् भन्ने सन्देश दिन निजी क्षेत्रका व्यवसायीहरूलाई समेटेर १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड सञ्चालन गरेका हौँ ।”
उनका अनुसार उक्त कम्पनीले स्टार्टअप लगानीकर्तालाई आवश्यक इक्विटी उपलब्ध गराउन सहयोग गर्नेछ । १० अर्ब रुपैयाँलाई इक्विटीका रूपमा प्रयोग गर्दा करिब ४० देखि ५० अर्ब रुपैयाँ बराबरका परियोजना आन्तरिक पुँजीबाटै सञ्चालन गर्न सकिने उनको दाबी छ । विशेषगरी कोरोना महामारीपछि पर्यटन क्षेत्र आन्तरिक रूपमा उल्लेखनीय रूपमा विस्तार भएको पनि उनले उल्लेख गरे ।
एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा बुधबार उक्त उच्चस्तरीय नीतिगत संवाद कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पर्यटन क्षेत्रमा समावेशी आर्थिक वृद्धि, महिला उद्यमशीलता प्रवद्र्धनका उपाय, साथै होमस्टे, आवास सेवा, हस्तकला, खाद्य सेवा र समुदायमा आधारित पर्यटनजस्ता सूक्ष्म, साना तथा मझौला उद्यममार्फत महिलाहरूको उल्लेखनीय योगदानबारे विस्तृत छलफल गरिएको थियो ।
