राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा सिफारिस भएका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत सांस्कृतिक प्रस्तुति दिन न्युजिल्याण्ड आउन लागेका छन्। उनले आगामी अप्रिल ११ मा अकल्याण्डमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ मा विशेष प्रस्तुति दिने कार्यक्रम तय भएको छ।
कार्यक्रम आयोजक संस्था न्युजिल्याण्ड नेपाल सोसाइटी का अनुसार, गायक सपुतको प्रस्तुति रहने जानकारी सार्वजनिक भएपछि नेपाल फेस्टिभलप्रति न्युजिल्याण्डमा रहेका नेपाली समुदायको चासो अझ बढेको छ। यस फेस्टिभलमा न्युजिल्याण्ड सरकारका महत्वपूर्ण अधिकारीहरुको पनि सहभागिता रहने छ।
हरेक वर्ष आयोजना हुँदै आएको यस फेस्टिभल नेपाली कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा परिचित छ। लोक तथा समसामयिक गीतमार्फत समाजका विविध विषय उठान गर्दै आएका सपुत नेपाली सांगीतिक क्षेत्रमा निकै लोकप्रिय कलाकार मानिन्छन्। उनका “गलबन्दी”, “बदला बरिलै”, “पीर” लगायतका गीतहरूले नेपाल मात्र नभई विदेशमा रहेका नेपाली समुदायमा पनि ठूलो चर्चा कमाएका छन्। सामाजिक सन्देश बोकेका उनका गीत र प्रस्तुति दर्शकमाझ निकै रुचाइने गरेका छन्।
नेपाल फेस्टिभल २०२६ मा गायक सपुतको प्रस्तुति मुख्य आकर्षणका रूपमा रहने आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा नेपाली संगीत तथा नृत्य प्रस्तुति, विभिन्न सांस्कृतिक झाँकी, नेपाली परिकारका स्टल, हस्तकला तथा कला–संस्कृतिको प्रदर्शनीसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछन्।
न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई एकै ठाउँमा भेला गराउँदै आफ्ना भाषा, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल फेस्टिभल प्रत्येक वर्ष आयोजना हुँदै आएको छ।
