UPDATE NEWS

न्युजिल्याण्डको साउथल्याण्ड क्षेत्रमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा नेपालको सिमरा स्थायी घर भएकी अनीता पाठक र उनकी १९ वर्षीया छोरीको घटनास्थलमै मृत्यु भएको छ। उनीहरू काममा जाँदै गर्दा आइला बैंक क्षेत्रस्थित सडक चोकमा बससँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ। गाडी अनीताका २० वर्षीय छोरा दीप पाठकले चलाएका थिए र उनी सामान्य घाइते भएका छन्।


न्युजिल्याण्डको साउथल्याण्ड क्षेत्रमा मंगलबार बिहान भएको गम्भीर सवारी दुर्घटनामा नेपाली आमा–छोरीको ज्यान गएको छ। काममा जाँदै गरेका बेला भएको दुर्घटनामा नेपालको सिमरा स्थायी घर भएकी अनीता पाठक र उनकी १९ वर्षीया छोरीको घटनास्थलमै मृत्यु भएको हो।

साउथल्याण्ड क्षेत्रमा बसोबास गर्दै आएका मृतकका छिमेकी वीरबहादुर गुरुङका अनुसार दुर्घटना बिहान करिब ८ बजेर ४० मिनेटतिर साउथल्याण्डको आइला बैंक (Isla Bank) क्षेत्रस्थित फेयरफ्याक्स–आइला बैंक रोड र आइला बैंक–फ्लिन्ट्स बुश रोडको चोकमा भएको थियो।

गाडी अनीताका २० वर्षीय छोरा दीप पाठकले चलाएका थिए। चालकलाई उद्धृत गर्दै गुरुङले हिमालपारीलाई दिएको जानकारी अनुसार देब्रोतर्फबाट आएको बसले उनीहरूको गाडीलाई ठक्कर दिएको थियो। बसको तीव्र ठक्करका कारण गाडीको यात्रु साइडमा रहेका अनीता पाठक र उनकी छोरीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा चालक दीप पाठक भने सामान्य घाइते भएका थिए। उपचारपछि उनी घर फर्किसकेको जनाइएको छ।

मृतक अनीताका श्रीमान् रमेश पाठक सन् २०२२ मा डेरी फार्ममा काम गर्न वर्क भिसामा न्युजिल्याण्ड आएका थिए भने श्रीमती र छोराछोरी सन् २०२३ मा न्युजिल्याण्ड पुगेका थिए।

अनीता र उनकी छोरी साउथल्याण्डस्थित ब्लूबेरी फार्ममा पार्ट–टाइम काम गर्दै आएका थिए। उनीहरू कार्यरत कम्पनी ब्लूबेरी कन्ट्री साउथल्याण्ड ले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै आफ्ना दुई कर्मचारी काममा जाँदै गर्दा दुर्घटनामा ज्यान गुमाएको जनाएको छ। कम्पनीले वक्तव्यमा भनेको छ, “हामी सबै स्तब्ध र शोकाकुल छौँ। उनीहरू हाम्रो टोलीका अत्यन्तै मूल्यवान सदस्य थिए।”

दुवै जना साउथल्याण्डस्थित ब्लूबेरी फार्ममा काम गर्दै आएका थिए। घटनापछि साउथल्याण्ड नेपाली समाजले परिवारलाई सहयोग गर्न स्वेच्छिक आर्थिक सहयोग अभियान सुरु गर्दै सबै नेपाली समुदाय र शुभेच्छुकहरूलाई सहयोगका लागि अपिल गरेको छ।

यसैबीच साउथल्याण्ड नेपाली समाज ले दिवंगत आमा–छोरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय अनीताका पति रमेश पाठक तथा सम्पूर्ण शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। समाजका सचिव उज्जल बास्ताकोटीका अनुसार यस दुर्घटनाले पाठक परिवारसँगै साउथल्याण्डस्थित नेपाली समुदायलाई पनि गम्भीर आघात पुगेको छ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र मानवीय नाताले केही राहत पुगोस् भन्ने उद्देश्यले समाजले स्वेच्छिक आर्थिक सहयोग संकलन अभियान सुरु गरेको जनाएको छ। समाजले सबै नेपाली समुदाय तथा शुभेच्छुकहरूलाई सक्दो सहयोग गर्न हार्दिक अपिल गर्दै सानो सहयोगले पनि शोकाकुल परिवारलाई ठूलो सहारा पुग्न सक्ने उल्लेख गरेको छ।

यसैबीच हिमालपारी मिडिया ले पनि स्वर्गीय पाठक आमा–छोरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले साउथल्याण्ड नेपाली समाजले सार्वजनिक गरेको बैंक खातामा स्वेच्छिक आर्थिक सहयोग पठाउन सक्नेछन्

Account Name: Southland Nepalese Society Inc.

Account No: 03-1750-0453388-00

Ref: “Pathak Family”