काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा रणनीतिक समन्वय, जनसंवाद र संगठन सुदृढीकरणलाई प्राथमिकता दिन पाँचबुँदे निर्देशन जारी गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको परिपत्रमा सुशासन, जवाफदेहिता र नागरिककेन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न संसद् र नागरिकबीचको प्रत्यक्ष तथा प्रभावकारी संवाद अपरिहार्य रहेको उल्लेख गरिएको छ।

परिपत्रमा सांसदहरूको भ्रमण औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही पार्टीको दृष्टिकोण विस्तार गर्ने, संगठनलाई सुदृढ बनाउने तथा जनताका आवाजलाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

रास्वपाले जारी गरेको निर्देशनअनुसार सांसदहरूले जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमण तय हुनासाथ सम्बन्धित पार्टी समितिलाई आधिकारिक जानकारी गराउनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य स्थानमा भ्रमण गर्दा सम्बन्धित सांसद तथा पार्टी संयन्त्रसँग पूर्वसमन्वय गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, स्थानीय समितिसँग पूर्वछलफल गरी सम्बन्धित क्षेत्रका प्रमुख तथा ज्वलन्त मुद्दाको पहिचान गर्न र तिनको समाधानका लागि सम्बन्धित निकायसँग समन्वयलाई प्राथमिकता दिनुपर्ने निर्देशन दिइएको छ।

पार्टीले कार्यक्रम सञ्चालन गर्दा स्थानीय पार्टी संरचनाको सक्रिय नेतृत्व र अपनत्व सुनिश्चित गर्न, भ्रमण तथा कार्यक्रमलाई तडकभडक र अनावश्यक खर्चबाट मुक्त राखी मितव्ययी ढंगले सञ्चालन गर्न तथा सुशासनको सन्देश प्रवाह गर्न पनि सांसदहरूलाई निर्देशन दिएको छ।

यस्तै, जनभ्रमणका क्रममा प्राप्त सुझाव, गुनासा तथा स्थानीय समितिबाट प्राप्त प्रतिवेदनलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी संसदीय दलमा संस्थागत रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

महामन्त्री आचार्यले सांसदको प्रभावकारी भूमिका र पार्टी संगठनको सुदृढता एकअर्काका पूरक रहेको उल्लेख गर्दै सुव्यवस्थित र समन्वयात्मक प्रयासबाट मात्रै पार्टीको संस्थागत परिपक्वता अभिवृद्धि हुने र जनताप्रतिको जवाफदेहिता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन्।