अकल्याण्ड। न्युजिल्याण्ड सरकारले शरणार्थी कोटा अन्तर्गत पुनर्वासका लागि आउने शरणार्थीलाई ‘रिफ्युजी ट्राभल डकुमेन्ट’ उपलब्ध गराउने भएको छ। सरकारले यही जुलाईदेखि रिफ्युजी ट्राभल डकुमेन्ट उपलब्ध गराउन थालेको हो। यो व्यवस्थाले शरणार्थीहरूको पुनर्वास प्रक्रिया सहज बनाउनुका साथै भविष्यमा विदेश यात्रा गर्न पनि थप सुविधा प्रदान गर्ने सरकारी अधिकारीहरूको भनाइ छ।

इमिग्रेसन न्युजिल्याण्ड र डिपार्टमेन्ट अफ इन्टरनल अफेयर्सले संयुक्त रूपमा लागू गरेको यस व्यवस्थाको उद्देश्य शरणार्थीलाई सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य यात्रा दस्तावेज उपलब्ध गराउनु रहेको छ। यसले उनीहरूलाई न्युजिल्याण्डमा बसोबास गर्न, सरकारी सेवा प्राप्त गर्न, आफ्नो पहिचान प्रमाणित गर्न तथा आवश्यक पर्दा विदेश यात्रा गर्न सहज बनाउने सरकारको विश्वास छ।

यसअघि वैध यात्रा कागजात नभएका शरणार्थीलाई न्युजिल्याण्ड आउनका लागि ‘सर्टिफिकेट अफ आइडेन्टिटी’ उपलब्ध गराइन्थ्यो। यो कागजात शरणार्थीलाई सुरक्षित रूपमा न्युजिल्याण्ड ल्याउनका लागि प्रयोग हुँदै आएको छ र प्रारम्भिक यात्राका लागि आगामी दिनमा पनि यही व्यवस्था कायम रहनेछ, किनभने रिफ्युजी ट्राभल डकुमेन्ट विदेशमा जारी गर्न मिल्दैन।

नयाँ व्यवस्थाअनुसार शरणार्थी कोटा कार्यक्रममार्फत न्युजिल्याण्ड आइपुगेका १६ वर्ष वा सोभन्दा माथिका योग्य शरणार्थीलाई देशमा प्रवेश गरेपछि ‘रिफ्युजी ट्राभल डकुमेन्ट’ का लागि आवेदन दिन सहयोग गरिनेछ।

डिपार्टमेन्ट अफ इन्टरनल अफेयर्सद्वारा जारी गरिने यो पासपोर्टसरहको यात्रा कागजात अहिले प्रयोग हुँदै आएको ‘सर्टिफिकेट अफ आइडेन्टिटी’ भन्दा बढी सुरक्षित, धेरै देशमा मान्यता प्राप्त तथा लामो अवधिसम्म वैध रहनेछ। यसले शरणार्थीलाई आफ्नो पहिचान प्रमाणित गर्न तथा अन्तर्राष्ट्रिय यात्रा गर्दा थप सहजता र आत्मविश्वास प्रदान गर्ने सरकारको भनाइ छ।

इमिग्रेसन न्युजिल्याण्ड का अनुसार यो परिवर्तनले शरणार्थीलाई उनीहरूको आवश्यकता अनुरूपको यात्रा कागजात उपलब्ध गराउने, न्युजिल्याण्डमा पुनर्वास प्रक्रिया थप प्रभावकारी बनाउने, विभिन्न सेवा प्राप्त गर्न सहज बनाउने तथा समुदायमा सक्रिय सहभागिता जनाउन सहयोग पुर्‍याउनेछ।

न्युजिल्याण्ड सरकारले यस कदमलाई शरणार्थीहरूलाई सुरक्षित भविष्य निर्माण गर्न, समाजमा घुलमिल हुन र नयाँ जीवन सुरु गर्न सहयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण हिस्सा भएको जारी सूचनामा उल्लेख गरेको छ।