अकल्याण्ड। न्युजिल्याण्ड सरकारले मध्यपूर्व क्षेत्रका लागि आफ्नो यात्रा परामर्श (ट्राभल एडभाइजरी) अद्यावधिक गर्दै इरान र अमेरिकाबीचको सैन्य तनाव आगामी दिनमा अझ चर्किन सक्ने चेतावनी मध्यपूर्वको यात्रा नगर्न न्युजिल्याण्ड सरकारद्धारा आम नागरिलाई आग्रह गरेको छ।
न्युजिल्याण्डको परराष्ट्र तथा व्यापार मन्त्रालय (MFAT) अन्तर्गतको सेफ ट्राभल (SafeTravel) सेवाले जारी गरेको नयाँ परामर्शमा मध्यपूर्वको सुरक्षा अवस्था अझै अनिश्चित रहेको उल्लेख गर्दै विभिन्न स्थानमा सैन्य आक्रमण र त्यसको प्रतिकारस्वरूप आक्रमण भइरहेकाले अवस्था थप बिग्रन सक्ने जनाएको छ।
मन्त्रालयका अनुसार सुरक्षा अवस्था थप बिग्रिएमा हवाई यात्रा अवरुद्ध हुन सक्ने, विभिन्न देशको हवाई क्षेत्र (एयरस्पेस) बन्द हुन सक्ने तथा अन्तर्राष्ट्रिय उडानमा व्यापक अवरोध आउन सक्ने जोखिम छ।
परामर्शमा विशेषगरी मध्यपूर्वका ट्रान्जिट हब हुँदै यात्रा गर्ने न्युजिल्याण्डवासी लामो समयसम्म अलपत्र पर्न सक्ने चेतावनी दिइएको छ।
यसैबीच न्युजिल्याण्ड सरकारले बहराइन, जोर्डन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) का लागि यात्रा चेतावनी लेभल–३ मा पुर्याएको छ। यस स्तरको चेतावनीले अत्यावश्यकबाहेक अन्य सबै यात्रा नगर्न आग्रह गर्दछ।
सरकारले यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई आफ्नो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) सम्बन्धी नियमहरू सावधानीपूर्वक बुझ्न पनि आग्रह गरेको छ। विशेषगरी सरकारी यात्रा चेतावनी वा युद्धसम्बन्धी अपवाद (War Exclusions) का कारण बीमा सुविधा रद्द हुन सक्ने भएकाले यात्रा अघि बीमा कम्पनीसँग परामर्श गर्न सुझाव दिइएको छ।
युरोपेली सङ्घको युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (EASA) ले पनि कम्तीमा २०२६ जुलाई २९ सम्मका लागि हवाई सेवा प्रदायकलाई खाडी क्षेत्रको हवाई मार्ग प्रयोग नगर्न सिफारिस गरेको छ।
यसका साथै यात्रुहरूलाई आफ्नो उडान प्रभावित भएको वा नभएको सम्बन्धमा सम्बन्धित एयरलाइन्स वा ट्राभल प्रदायकसँग सम्पर्क गरेर जानकारी लिन आग्रह गरिएको छ।
यात्रा चेतावनी जारी भएका देशहरूमा रहेका न्युजिल्याण्डवासीलाई स्थानीय सञ्चारमाध्यमको नियमित निगरानी गर्न, सम्भावित आक्रमणका लक्ष्यबारे जानकारी राख्न तथा स्थानीय प्रशासनले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न पनि सरकारले अनुरोध गरेको छ।
मन्त्रालयले जारी गरेको परामर्शमा भनिएको छ, “हामी न्युजिल्याण्डवासीलाई सकेसम्म मध्यपूर्वको यात्रा नगर्न र वैकल्पिक यात्रा मार्ग रोज्न कडा सल्लाह दिन्छौँ। यदि यी देशहरू हुँदै ट्रान्जिट गर्नैपर्ने अवस्था आएमा त्यहाँको बसाइ सकेसम्म छोटो राख्नुहोस्, अनावश्यक गतिविधिबाट टाढा रहनुहोस्। हवाई क्षेत्र कुनै पनि बेला बन्द हुन सक्छ, उडानहरू अचानक परिवर्तन वा रद्द हुन सक्छन् र सीमा नाकाहरू पनि बन्द हुन सक्छन्।”
परामर्शअनुसार अमेरिकाले इरानका बुशेहर, बन्दर अब्बास, चाबहार, कोनारक, कुर्दिस्तान, सिरिक, तब्रिज र हमादान लगायतका विभिन्न स्थानमा सैन्य आक्रमण गरेको जनाएको छ।
यस्तै, इरानले पनि मध्यपूर्वभर रहेका अमेरिकी सैन्य अखडा तथा अमेरिकी हितका अन्य संरचनालाई निशाना बनाएको र विमानस्थल तथा समुद्री पानी प्रशोधन केन्द्र (डिसालिनेशन प्लान्ट) जस्ता नागरिक पूर्वाधारमा समेत आक्रमण गरेको वा आक्रमण गर्ने चेतावनी दिएको परराष्ट्र मन्त्रालयको परामर्शमा उल्लेख गरिएको छ।
