अकल्यान्ड । बक्सिङ डे सेल सुरु भएसँगै न्युजिल्याण्डका प्रमुख सपिङ सेन्टरहरू दिनभर ग्राहकले खचाखच भरिएका छन् । छुट अफरको आकर्षणले बिहानैदेखि उपभोक्ताहरू किनमेलका लागि निस्कँदा अधिकांश सपिङ मलहरूमा बाक्लो भीड देखिएको हो ।
अकल्यान्डका सिल्भिया पार्क, बोटनी टाउन सेन्टर, मनकाउ सिटीलगायतका सपिङ मलहरूमा ग्राहकको घुइँचो लागेको थियो । यस्तै, वेलिङ्टन, क्राइस्टचर्च, ह्यामिल्टनलगायतका सहरमा पनि बक्सिङ डे सेलका कारण उस्तै चहलपहल देखिएको छ ।
भीडसँगै पार्किङको समस्या भने सबैभन्दा ठूलो चुनौती बनेको थियो । सपिङ मल आसपास पार्किङ पाउन ग्राहकहरूलाई लामो समय कुर्नु परेको सपिङका लागि आएका ग्राहकहरुको गुनासो थियो । सफिङका लागि सिल्भिय पार्क पुगेका भारतीय मूलका नागसरक बलवन्त सिंहले पार्किङ पाउन करिब एक घण्टा कुर्नुपरेको गुनोसो गरे । “मल वरिपरि धेरै पटक घुम्नुपर्यो, अन्ततः एक घण्टापछि मात्र पार्किङ पाउन सकियो,” उनले भने ।
अकल्यान्ड मनकाउका माइक म्याक्डोनालले पनि पार्किङका कारण किनमेलमा ढिलाइ भएको बताए । उनका अनुसार बक्सिङ डे सेलका दिन मल क्षेत्रमा ट्राफिक अत्यधिक बढ्दा सवारी व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
भीड र ट्राफिक व्यवस्थापन सहज बनाउन अधिकांश सपिङ मलहरूले थप कर्मचारी परिचालन गरेका छन् । ट्राफिक निर्देशन, सुरक्षा व्यवस्था र सरसफाइका लागि अतिरिक्त जनशक्ति खटाइएको छ । व्यवस्थापन पक्षले ग्राहक र व्यवसायी दुवैका लागि बक्सिङ डे व्यापारिक रूपमा सफल हुने अपेक्षा व्यक्त गरेका छन् ।
बक्सिङ डे सेलले उपभोक्तालाई सस्तो मूल्यमा सामान खरिद गर्ने अवसर दिएको छ भने खुद्रा व्यवसायमा पनि उत्साह थपेको छ । भीड र पार्किङको असुविधाबीच पनि उपभोक्ताहरू छुट अफरको फाइदा उठाउन दिनभर सपिङ मलहरूमा पुगेका थिए । फोटो: एनजेड हेराल्ड
