काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले प्रविधि हिंसाको हतियारका रूपमा प्रयोग हुँदै गएको बताएकी टिन् । उनले यसबारे सजग हुन समाज र संस्थाहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिइन । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी), नेपाल ल क्याम्पस र नेपाल पर्यटन बोर्डद्वारा आयोजित महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गतको छलफल कार्यक्रममा बोल्दै उनले समाजमा परम्परागत तथा पितृसत्तात्मक सोचका कारण हिंसा कायम रहेको बताइन।
उनका अनुसार हिंसाको स्वरूप समयसँगै बदलिए पनि यसको अस्तित्व घटेको छैन। “अदृश्य शक्तिले पीडितको आवाज दबाइरहेको छ, महिलामाथिको अन्याय निरन्तर छ,” उनले भनिन्। घरेलु हिंसाका मुद्दामध्ये ९९ प्रतिशतमा महिला नै पीडित हुने तथ्य उनले पेश गरिन्, भने पुरुष पीडित पनि भए तापनि संख्या अत्यन्त न्यून रहेको उल्लेख गरिन्।
न्यायाधीश मल्लले घर, सार्वजनिक स्थान तथा कार्यस्थल सबै क्षेत्रमा महिलाविरुद्ध हिंसा हुने गरेको बताउँदै वैवाहिक हिंसा पनि गम्भीर समस्या भएको प्रष्ट बताइन । उनले महिला हिंसाविरुद्ध पुरुषको सहयात्रा र संस्थागत प्रतिवद्धताले मात्र दिगो परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरिन्।
कार्यक्रममा नेपाल ल क्याम्पसकी प्राध्यापक मनिषा पौडेलले क्याम्पसले १६ दिने अभियान विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको बताइन्। यस वर्ष नेपाल पर्यटन बोर्ड र एफडब्लुएलडीको सहकार्यमा फरक ढंगबाट अभियान अघि बढाइएको उनले जानकारी दिइन्।
कार्यक्रममा नेपाल ल क्याम्पसका विद्यार्थीले ‘हिंसालाई शून्यमा झार्ने सहयात्रा’ शीर्षक नाटक तथा कला प्रदर्शनी प्रस्तुत गरेका थिए।
