चिकित्सकीय रूपमा बसेर वा उभिएर पिसाब गर्दा स्वास्थ्यमा कुनै ठोस फरक नदेखिए पनि सामान्यतया बसेर पिसाब गर्नु सुरक्षित र राम्रो मानिन्छ। पुरुषहरूले कसरी पिसाब गर्नु उपयुक्त हो भन्ने विषयमा धेरै बहस भइरहँदा स्वास्थ्य विशेषज्ञहरूका विचार, विभिन्न अध्ययनहरूको नतिजा र सांस्कृतिक अभ्यासहरू फरक–फरक देखिन्छन्।

बेलायतकी युरोलजी फाउन्डेसनकी अध्यक्ष डा. मेरी गार्थवेटका अनुसार पिसाब गर्ने एकदमै सही वा गलत तरिका हुँदैन, तर शौचालय सफा छ भने बसेर पिसाब गर्नु सजिलो र सुरक्षित विकल्प हुन सक्छ। विशेष गरी हिँडडुलमा समस्या भएका, सन्तुलन राख्न गाह्रो हुने वा राति अचानक उठ्नुपर्ने व्यक्तिहरूका लागि यो अझै सुरक्षित मानिन्छ।

नेदरल्यान्ड्सको लिडेन विश्वविद्यालयको एक अध्ययनअनुसार प्रोस्टेट बढेका पुरुषहरूले बसेर पिसाब गर्दा मूत्राशय छिटो र पूरै खाली गर्न सक्ने देखियो। तर स्वस्थ पुरुषहरूमा भने उभिँदा वा बस्दा विशेष फरक नपर्ने उल्लेख छ।

उभिएर पिसाब गर्दा थोपाहरू चारैतिर छ्यापिने जोखिम बढी हुने भएकाले स्वच्छताका दृष्टिले बस्ने तरिका सुरक्षित मानिन्छ। अमेरिकी इन्जिनियरहरूको अध्ययनअनुसार उभिएर पिसाब गर्दा माइक्रो थोपाहरू टाढासम्म उड्न सक्ने भएकाले वरिपरिको सरसफाइमा असर पर्न सक्छ।

सांस्कृतिक रूपमा पनि फरक–फरक अभ्यास छन्। इस्लाम धर्ममा बसेर पिसाब गर्नु सुन्नत मानिन्छ। तर जर्मनीमा भने बसेर पिसाब गर्ने पुरुषलाई जिस्क्याइने चलन छ। बेलायतमा गरिएको एक अध्ययनमा ३३ प्रतिशत पुरुष मात्र हरेक पटक बसेर पिसाब गर्ने पाइएको छ।

अक्सफोर्ड विश्वविद्यालयका विकासवादी मनोविज्ञान विशेषज्ञ डा. रोबर्ट डनबारका अनुसार उभिएर पिसाब गर्नुपर्ने कुनै ऐतिहासिक वा विकासवादी कारण छैन। डा. गार्थवेट पनि भन्छिन्, “कसैलाई उभिएर सहज लाग्छ, कसैलाई बसेर—यो व्यक्तिगत रोजाइको कुरा हो।”

यतिबेलासम्म चिकित्सकले स्पष्ट रूपमा नबोल्दा पुरुषहरूले बस्ने कि उभिने भन्ने निर्णय आफ्नै सहजता, सुरक्षा र स्वच्छताका आधारमा गर्न सक्ने निष्कर्ष स्वास्थ्य विशेषज्ञहरूको छ।

स्रोत: बीबीसी

फोटो : एआई