इस्लामाबाद।
पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने आफ्नो अघिल्लो निर्णय फिर्ता लिएको छ। यससँगै अब पाकिस्तानले फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।

पाकिस्तान सरकारले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी वक्तव्यमा मैत्रीपूर्ण देशहरूको आग्रह र पछिल्लो कूटनीतिक सहमतिलाई ध्यानमा राख्दै भारतीय टोलीविरुद्ध खेल्न अनुमति दिएको जनाएको छ।

सरकारी भनाइअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए। उक्त छलफलपछि सरकारको तर्फबाट निर्णय पुनर्विचार गरिएको हो।

बीसीबीको औपचारिक अनुरोधसँगै श्रीलंका, संयुक्त अरब इमिरेट्ससहित अन्य सदस्य राष्ट्रहरूले समाधानका लागि पाकिस्तानको नेतृत्व अपेक्षा गर्दै पठाएको पत्राचारसमेत सरकारले समीक्षा गरेको जनाएको छ।

यसैबीच बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिन उल इस्लामले व्यक्त गरेको आभारप्रति पाकिस्तानले सकारात्मक प्रतिक्रिया दिएको छ। पाकिस्तानले बंगलादेशसँग सदैव सहकार्य र मित्रता कायम रहने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

पछिल्लो कूटनीतिक पहलअन्तर्गत प्रधानमन्त्री शहबाज शरीफ र श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेबीच टेलिफोन वार्ता भएको थियो। वार्ताका क्रममा श्रीलंकाली राष्ट्रपतिले वर्तमान गतिरोध समाधानका लागि सकारात्मक निर्णय लिन आग्रह गरेका थिए।

यसअघि पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने घोषणा गरेपछि विश्व क्रिकेट जगतमा चासो बढेको थियो। पछिल्लो निर्णयसँगै आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत बहुप्रतीक्षित भारत–पाकिस्तान भिडन्त हुने निश्चित भएको छ