अकल्याण्ड। वेटाङ्गी सप्ताहन्तको अवसर पारेर न्युजिल्यान्डको अकल्याण्डस्थित म्याक्लिओड पार्कमा आयोजना गरिएको ११औँ संस्करणको टेन्जिङ–हिलारी कप २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। एफसी खुकुरी तथा टेन्जिङ–हिलारी कप (THC) कमिटीको संयुक्त आयोजनामा फेब्रुअरी ७ र ८ तारिखमा सञ्चालन भएको प्रतियोगितामा आयोजक क्लब खुकुरी एफसीले तीनै विधाको उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

प्रतियोगिताको फाइनल खेल खुकुरी रेड र लोत्साम्पा एफसीबीच सम्पन्न भएको थियो। प्रतिस्पर्धात्मक खेलमा खुकुरी रेडले २–१ को जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको हो। यससँगै टेन्जिङ–हिलारी कप २०२६ औपचारिक रूपमा सम्पन्न भएको छ।
खुकुरी एफसीले प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट र सन्तुलित प्रदर्शन गर्दै आएको थियो। सोही प्रदर्शनको निरन्तरतास्वरूप क्लबले कप, मास्टर्स तथा जुनियर्स तीनै विधाको उपाधि जित्न सफल भएको हो। यो उपलब्धिलाई खुकुरी एफसीको अहिलेसम्मकै सबैभन्दा सफल प्रतियोगिताका रूपमा लिइएको छ।
समूह चरणदेखि नै आक्रामक र अनुशासित खेल प्रस्तुत गर्दै आएको खुकुरी एफसीले निर्णायक खेलहरूमा पनि आफ्नो दबदबा कायम राख्न सफल भएको क्लबका अध्यक्ष अमित सापकोटाले बताए। प्रतियोगिताले न्युजिल्यान्डमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, खेलकुद भावना र नयाँ प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले भने, “उपविजेता टोलीले पनि निकै राम्रो प्रदर्शन गरेको थियो।”
प्रतियोगितामा विजयी टोलीलाई सर एडमण्ड हिलारीका सुपुत्र जोन हिलारीले कप तथा मेडल प्रदान गरेका थिए। पुरस्कार वितरण समारोहमा खेलाडी, आयोजक, स्वयंसेवक तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

