रामहरि पाण्डे/न्युजिल्यान्ड : काभ्रेको बनेपा स्थायी घर भएका रामहरि थपलिया आईटीमा ब्याचलर अध्ययनका लागि न्युजिल्यान्डको अकल्यान्ड उड्दा सुटकेसमा लुगा, खाने र पकाउने केही थान भाँडा अनि चाउचाउका पोकाहरू मात्र थिएनन्।
थिए त परिवारको आशा, आफन्तहरूको भरोसा अनि आफ्नै भविष्यको सुन्दर सपना। तर, ६ महिनाअघि सुरु भएको उनको त्यो यात्रा संघर्षको कठोर अध्यायमा रुमलिएको छ। यतिबेला उनको सबैभन्दा ठूलो चिन्ता कलेजको असाइनमेन्ट होइन, भोलि के खाने भन्नेमा छ।
‘यहाँ आएको ६ महिना बढी भइसक्यो, अझै कामकै खोजीमा छु,’ अकल्यान्डको एक अपार्टमेन्टमा ६ जान साथीहरूसँग बस्दै आएका थपलिया भन्छन्, ‘नेपालबाट ल्याएको पैसा सकियो, दुईपटक थप पैसा मगाइसकें। अब फेरि पठाइदेऊ भन्न पनि सक्दिनँ, नभनू यहाँ बाँच्न निकै गाह्रो भइसक्यो।’
उनको दिन बिहान कलेज जानुअघि नै सुरु हुन्छ, मोबाइलमा जब साइट खोल्ने, नयाँ विज्ञापन हेर्ने, सीभी अपडेट गर्ने। दिउँसो कलेजपछि पनि फेरि त्यही क्रम। साँझ कोठा फर्कंदा थकानभन्दा निराशा बढी हुन्छ। ‘जहाँ आवेदन गर्छु, त्यहाँबाट काम होइन ‘सरी, बेस्ट अफ लक फर योर फ्युचर’ भन्ने इमेल आउँछ,’ फिस्स हाँस्दै सुनाए।
काठमाडौं कीर्तिपुर कन्याचौरका सुन्दर श्रेष्ठ पनि सात महिनाअघि यही आशामा न्युजिल्यान्ड आएका थिए। तर, सहरले उनलाई काम दिएन। नयाँ वर्षको बिदामा उनी अकल्यान्डबाट तीन घण्टा टाढा टिपुकी पुगेर किवी फ्रुट फार्ममा तीन हप्ता काम गरे। ‘सहरमा भन्दा गाउँतिर काम पाइँदो रहेछ,’ उनी भने, ‘यहाँ बाँच्न गाह्रो भएको बेलामा उता गएर तीन हप्ता काम गर्दा केही राहातको सास फेरेको छु।’ ‘फार्मको कमाइले केही समय राहत दिए पनि मनमा बेचैन छ, हामी सात जना एउटै कोठामा बस्छौं। राम्रोसँग खाना नखाएको धेरै भइसक्यो। धेरैजसो त एक छाक मात्र खान्छौं। महँगो ग्रोसरीका कारण कति त पाउरोटीमै दिन बित्छ,’ उनले थपे।
‘बिहान चिया–बिस्कुट र बेलुका मात्रै भात खान्छु। कतिपटक पाउरोटी खाएरै सुतेका छौं, हामी नेपालीलाई भात नखाँदा निद्रा नै लाग्दैन,’ उनी भन्छन्, ‘घरबाट फोन आउँदा भने भात खाएँ भनेर ढाँट्नुपर्छ।’ त्यो झुट बोल्दा मन पोल्छ, घरको यादले झन् सताउँछ उनले थपे, ‘यहाँ आएपछि सबै कुरा परिवारलाई भन्न सकिँदो रहेन्छ, त्यसैले सबै कुरा आफैंभित्र गुम्साएर राख्नु पर्दो रहेछ।’
गुल्मी वामिटक्सारका शैलेश थापा नौ महिनाअघि प्रोजेक्ट म्यानेजमेन्ट पढ्न आएका हुन्। पाँच महिनासम्म काम नपाउँदा उनी पनि निराश भएका थिए। ‘पाँच महिनापछि पार्ट–टाइम त्यो पनि क्याजुअल जब पाएँ,’ उनी भन्छन्। ‘सुरुमा सात–दस घण्टा मात्र काम थियो, अहिले २० घण्टा काम गर्छु, यसले खान र बस्न पुगेको छ।’
तर, उनीसँगै बस्ने तीन जना साथी अझै कामविहीन छन्। पढाइ सकिन लाग्दा पनि आफ्नो विषयअनुसारको रोजगारी पाउने आशा कम देखिन्छ। ‘अब कुकरी पढ्ने सोच बनाएको छु,’ थापा भन्छन्, ‘भविष्यलाई नयाँ ढंगले अगाडि मोड्ने योजना बनाएको छु।’
काठमाडौं वनस्थलीका प्रेम बानियाँको कथा पनि फरक छैन। क्याफे, वेयर हाउस, एजकेयर—जहाँ सम्भव छ, त्यहाँ बायोडाटा बुझाएको उनी बताउँछन्। तर, जवाफ उस्तै आउँछ, ‘अनुभव पुगेन वा पछि खबर गर्छौं, सरी आदि आदि।’
सीप र तयारीबिना आउने विद्यार्थीले तत्काल काम पाउन गाह्रो हुन्छ। ‘यहाँ सार्वजनिक यातायात राम्रो छैन। यातायातकै समस्याले पनि धेरैले काम गुमाएका छन्। गाडी चलाउन जान्ने र केही सीपमूलक तालिम लिएर आउने हो भने अवसर पाउन सजिलो हुन्छ,’
‘बिहान चिया–बिस्कुट र बेलुका मात्रै भात खान्छु। कतिपटक पाउरोटी खाएरै सुतेका छौं, हामी नेपालीलाई भात नखाँदा निद्रा नै लाग्दैन,’ उनी भन्छन्, ‘घरबाट फोन आउँदा भने भात खाएँ भनेर ढाँट्नुपर्छ।’ त्यो झुट बोल्दा मन पोल्छ, घरको यादले झन् सताउँछ उनले थपे, ‘यहाँ आएपछि सबै कुरा परिवारलाई भन्न सकिँदो रहेन्छ, त्यसैले सबै कुरा आफैंभित्र गुम्साएर राख्नु पर्दो रहेछ।’
तीन–चार ठाउँबाट अन्तर्वार्ताका लागि बोलाइए पनि कलेजको समय र कामको सिफ्ट नमिल्दा अवसर गुमेको उनले सुनाए। ‘धेरैले त अनुभव नपुगेको भन्दै काम दिन मान्दैनन्,’ उनी थप्छन्। यी पात्र प्रतिनिधि मात्र हुन्। उच्च शिक्षा र उज्ज्वल भविष्यको सपना बोकेर न्युजिल्यान्ड पुगेका धेरै नेपाली विद्यार्थीको यथार्थ यस्तै र कहालीलाग्दो छ। कलेजको पढाइभन्दा बढी समय कामको खोजीमा बित्छ उनीहरूको। नेपाली समुदायले खोलेको फेसबुक समूह, कलेज बढाउने ट्युटर, चिनजान र जहाँ अलिक पहिले आएका नेपालीलाई भेट्यो उसलाई, कतै काम लगाइदिनु न ? यो विद्यार्थीको दैनिकी नै बनेको छ। यहाँ पढ्न आएका विद्यार्थीले मात्र होइन, डिपेनडेन्टमा फ्री वर्क भिसामा आएकाले पनि सजिलै काम पाउन सकेका छैन।
न्युजिल्यान्डमा बेरोजगारीको संख्या बढ्ने ठुल्ठूला उद्योग कलकारखाना नहुनुले पनि यहाँ सजिलै काम पाउन कठिन जस्तै छ। फेरि पछिल्लो समय बेरोजगारीको संख्यामा पनि वृद्धि भएको छ। न्युजिल्यान्ड सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ प्रतिशतभन्दा बढी बेरोजगारी छन् यहाँ। त्यसैले पनि राम्रा होइन सामान्य काम पाउन पनि कठिन छ। राम्रो रिफरेन्स भए केही सहज हुन्छ, नत्र संघर्षमै लामो समय बित्छ।
न्युजिल्यान्डका लागि नेपालका अवैतनिक वाणिज्यदूत दिनेश खाड्का, धेरै विद्यार्थी काम नपाएर संघर्ष गरिरहेको स्वीकार गर्छन्। ‘हामी सक्दो सहयोग गरिरहेका छौं, केहीलाई थोरै भए पनि रोगारी दिएका छौं,’ उनी भन्छन्, ‘यहाँ नेपाली व्यवासायीहरू पनि धेरै नभएकाले पनि समस्य देखिएको हो।’
खड्काका अनुसार सीप र तयारीबिना आउने विद्यार्थीले तत्काल काम पाउन गाह्रो हुन्छ। ‘यहाँ सार्वजनिक यातायात राम्रो छैन। यातायातकै समस्याले पनि धेरैले काम गुमाएका छन्। गाडी चलाउन जान्ने र केही सीपमूलक तालिम लिएर आउने हो भने अवसर पाउन सजिलो हुन्छ,’ उनी सुझाए।
तर, न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज महर्जन विद्यार्थीलाई यहाँको सरकारले पढ्नका लागि भिसा दिएको हो, कामका लागि होइन त्यसैले पढाइ नसकी काम पाइएन भन्नु ठीक होइन भन्छन्,। उनका अनुसार विद्यार्थीले पढाइमा केन्द्रित हुन सके पढाइपछि काम पाउने सम्भावना बढ्छ। उनका अनुसार केही नेपाली व्यवसायीले विद्यार्थीलाई अवसर दिएको भए पनि कतिपय विद्यार्थी आवश्यक तयारीबिना आउने वा काममा अपेक्षित प्रदर्शन गर्न नसक्दा समस्या हुने गरेको हो।
न्युजिल्यान्डमा रहेका धेरै नेपाली विद्यार्थी सपना र भोक सँगै बोकेर हिँडिरहेका छन्। भोकले शरीर कमजोर बनाउँछ तर सपनाले मनलाई जोगाइराखेको छ। यही भनाइलाई आत्मसात गर्दै एक दिन स्थायी काम पाउने, पढाइअनुसारको अवसर भेट्ने र परिवारको भरोसा पूरा गर्ने विश्वासका साथ उनीहरू यहाँका सहर र गाउँका गल्लीहरूमा कुदिरहेका छन्। तर, त्यो दिन नआउँदासम्म, धेरै युवा एक छाकको भातको खोजी अनि घरमा राम्रो रहेको आश्वस्त पार्ने झुट बोल्दै भविष्यको उज्यालो सपनाको पार्खाइमा रहन बाध्य छन्। अन्नपूर्ण पोस्टबाट
