न्युजिल्याण्ड सरकारले मान्यता प्राप्त रोजगारदाता कार्य भिसा अन्तर्गत अंग्रेजी भाषा सम्बन्धी न्यूनतम मापदण्डलाई थप विस्तार गर्ने भएको छ । जसअनुसार आगामी महिना अर्थात जुनदेखि लेभल ३ मा वर्क भिसा लगाउन चाहनेले पनि अंग्रेजी भाषा परीक्षा दिनुपर्ने छ । यसअघि लेभल ४ र ५ मा अंग्रेजी भाषा मापदण्ड लागू गरिएको थियो ।

राष्ट्रिय पेशागत सूचीमा रहेका पेशाहरूलाई सरकारले १ देखि ५ सम्मको सीप स्तरमा वर्गीकरण गरेको छ । स्तर १ मा प्रमुख अधिकृत, कार्यकारी अधिकृत, कार्यकारी सेफजस्ता उच्च सीपयुक्त पेशा पर्छन् भने स्तर ३ मा सहकर्मी सहयोगकर्ता तथा सामान्य कामदार पर्छन् ।

इमिग्रेसन मन्त्री एरिका स्टानफोर्डले हाल कार्य भिसा अन्तर्गत आउने अधिकांश कामदार सीप स्तर ३ मा पर्ने भएकाले उनीहरूका लागि सामान्य दैनिक अंग्रेजी ज्ञान आवश्यक भएकोले अंग्रेजी भाषा अनिवार्य गर्न लागिएको बताइन् ।

उनका अनुसार कामदारले आफ्नो अधिकार बुझ्न, कार्यस्थलमा प्रभावकारी रूपमा काम गर्न तथा समुदायसँग घुलमिल हुन आधारभूत अंग्रेजी ज्ञान आवश्यक हुन्छ ।

सरकारले निर्धारण गरेको न्यूनतम मापदण्ड अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली आईएलटीएस ४.० वा सोसरहको हुनेछ । मन्त्री स्टानफोर्डले यो उच्चस्तरको नभई दैनिक जीवनमा आवश्यक सामान्य अंग्रेजी मात्र भएको स्पष्ट पारिन् ।

सरकारले आगामी अगस्टदेखि दुई नयाँ दक्ष आवासीय भिसा प्रणाली सुरु गर्ने तयारी गरिरहेको भन्दै दीर्घकालीन रूपमा न्युजिल्याण्डमा बसोबास गर्ने लक्ष्यसहित आउने मध्यम सीपयुक्त कामदारका लागि आधारभूत अंग्रेजी आवश्यक भएको जनाएको छ ।

सरकारका अनुसार आवासीय अनुमति प्राप्त गर्न आवश्यक उच्चस्तरको अंग्रेजी सिक्न कामदारहरूलाई पाँच वर्षसम्मको समय उपलब्ध हुनेछ । यद्यपि ग्लोबल वर्कफोर्स सिजनल भिसा तथा पिक सिजनल भिसा अन्तर्गत आउने कामदारलाई भने यो अंग्रेजी मापदण्ड लागू हुने छैन ।

यसैबीच सरकारले सक्रिय लगानीकर्ता वृद्धिश्रेणी अन्तर्गत परोपकारी लगानीको व्यवस्था पनि विस्तार गर्ने निर्णय गरेको छ । आगामी जुन १ देखि लागू हुने व्यवस्थाअनुसार लगानीकर्ताले आफ्नो कुल लगानीको २० प्रतिशतसम्म परोपकारी सहयोगका रूपमा लगानी गर्न सक्नेछन् ।

यसअघि यस्तो सुविधा सन्तुलित श्रेणीमा मात्र उपलब्ध थियो । सरकारले अब सबैभन्दा बढी आवेदन आउने वृद्धिश्रेणीमा पनि यो व्यवस्था विस्तार गरेको हो । सरकारका अनुसार लगानीकर्ताले कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा रहेका तथा आफू प्रत्यक्ष सम्बन्धित नभएका संस्थालाई दान दिन सक्नेछन् । संरक्षण विभागका केही परियोजनालाई पनि मान्य परोपकारी लगानीका रूपमा समावेश गरिने भएको छ ।

मन्त्री स्टानफोर्डले विशेषगरी अमेरिकी लगानीकर्ताहरूले न्युजिल्याण्डप्रति आकर्षण बढ्दै गएको र उनीहरूले समाजमा योगदान गर्न चाहेकाले यस्तो व्यवस्था ल्याइएको बताइन् ।

यता एक्ट पार्टीका नेता डेभिड सीमोरले अंग्रेजी भाषा मापदण्डलाई स्तर ३ सम्म विस्तार गर्नु सकारात्मक कदम भएको प्रतिक्रिया दिएका छन् । उनले यो व्यवस्था सबै सीप स्तरमा लागू हुनुपर्ने धारणा राखेका छन् । तर ग्रीन पार्टीले भने लगानीकर्ता भिसामा अंग्रेजी भाषा मापदण्ड नलगाइनुलाई दोहोरो मापदण्डको संज्ञा दिएको छ ।