बार्सिलोना । युरोपमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको संस्था सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेशनल्स इन युरोपले आफ्नो प्रतिष्ठित ‘युरोप–नेपाल स्वास्थ्य सम्मान २०२५’ नेपाल मेडिकल एसोसिएसनलाई प्रदान गर्ने निर्णय गरेको छ।
सोसाइटीले सोमबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार, प्रत्येक वर्ष प्रदान गरिने उक्त सम्मानको पुरस्कार राशि नगद १ लाख १ रुपैयाँ तोकिएको छ। विज्ञप्तिमा जनाइए अनुसार, नेपालमा आवसीय चिकित्सकको हक–अधिकार, तलब–भत्ता तथा पेशागत सुरक्षाका लागि नेपाल मेडिकल एसोसिएसनले गरेको निरन्तर पहल, संघर्ष तथा हासिल उपलब्धिको उच्च कदर गर्दै यस वर्षको सम्मान संस्थालाई समर्पित गरिएको हो।
सोसाइटीका अध्यक्ष डा. विनय कुमार श्रेष्ठका अनुसार, युरोप–नेपाल स्वास्थ्य सम्मान स्थापना गर्ने मूल उद्देश्य नेपालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्यकर्मीको हक–अधिकार संरक्षण तथा स्वास्थ्य क्षेत्रको समग्र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्व वा संस्थालाई कदर गर्नु हो।
डा. श्रेष्ठले भने, “हामी छिट्टै नेपालमा आयोजना हुने एक विशेष कार्यक्रममा पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गर्नेछौँ।” यसअघि सोसाइटीले आफ्नो पहिलो युरोप सम्मेलनका अवसरमा प्रा. डा. गणेश आचार्यलाई ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ सम्मान प्रदान गरेको थियो।
अध्यक्ष श्रेष्ठका अनुसार, युरोप र नेपाल दुवै स्थानमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई लक्षित गर्दै यस्ता सम्मान कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।
