जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनमार्फत रविन्द्र श्रेष्ठ नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। टोकियोमा सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी राजन गौतमलाई १२ मतले पछि पार्दै श्रेष्ठ विजयी बने।
निर्वाचनमा श्रेष्ठले ४४ मत प्राप्त गरे भने गौतमले ३२ मत पाए। ८६ सदस्यीय शाखामा ७७ मत खसेको निर्वाचन समितिले जनाएको छ। यसपटक अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष र सचिव पदमा मात्र प्रतिस्पर्धा भएको थियो भने अन्य पदमा सर्वसम्मत चयन गरिएको थियो।
श्रेष्ठ अघिल्लो कार्यसमितिमा उपाध्यक्ष र गौतम सचिव थिए। खुला उपाध्यक्ष पदमा मनिषा चौलागाईं ३० मतसहित विजयी भइन्। महिला उपाध्यक्षमा लक्ष्मी पौडेलले ४५ मत प्राप्त गर्दै निर्वाचित भइन्। सचिव पदमा अर्जुन लामिछाने ४५ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी विश्वास आचार्यले ३२ मत पाएका थिए।
कार्यालयको खुला सहसचिवमा विष्णुप्रसाद सापकोटा, समावेशी सहसचिवमा फुर्वा शेर्पा, कोषाध्यक्षमा भुलबहादुर राना निशान चयन भए। त्यस्तै सदस्यमा दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी र विनोद ढकाल सर्वसम्मत निर्वाचित भएका छन्।
