स्वास्थ्य न्युजिल्याण्ड (Health NZ) ले वरिष्ठ चिकित्सकलाई ‘करारमा बाध्य’ गराउन रोजगारी सम्बन्धी प्राधिकरण (Employment Relations Authority – ERA) मा दायर गरेको निवेदन असफल भएको छ। बारम्बारको वार्ता अवरुद्ध भएपछि गत सेप्टेम्बरमा स्वास्थ्य NZ ले सामूहिक सम्झौताका शर्तहरू ERA ले नै “स्थिर” गरिदिन माग गरेको थियो। यसो भएमा दुवै पक्षमा जबरजस्ती सम्झौता लागू हुने थियो। तर ERA ले शुक्रबार आफ्नो निर्णय सुनाउँदै यस्तो कदम आवश्यक नदेखिएको बतायो।

निर्णय सुनाउँदैं सदस्य निकोल क्रेगले दुवै पक्षबाट ‘सद्भावमा गम्भीर र दीर्घकालीन उल्लंघन’ भएको प्रमाण नदेखिएको जनाइन्। उनले भनिन्, “दुवै पक्षबीच दूरी छ, तर लामो समय प्रगति नभए पनि कहिलेकाहीँ छिट्टै निर्णायक प्रगति हुने वार्तामा असामान्य होइन।”

वरिष्ठ चिकित्सकहरूको संगठन (Association of Salaried Medical Specialists – ASMS) ले अझै सहमति भइनसकेका विषयहरूको सूची पेश गरेको उल्लेख गर्दै क्रेगले थपिन्, “अझै वार्ताको पर्याप्त सम्भावना छ। दुवै पक्षले पूर्ण रूपमा, खुला रूपमा र सद्भावपूर्वक समाधान दिशामा अघि बढ्नुपर्छ।”

निर्णयपछि ASMS की कार्यकारी निर्देशक साराह डाल्टनले Health NZ ले दायर गरेको मुद्दालाई “धनको अनावश्यक खर्च” भन्दै आलोचना गरिन्। उनले भनिन्, “हामी वरिष्ठ चिकित्सक र दन्त चिकित्सक गुमाउने गम्भीर जोखिममा छौं। Health NZ को भर्ती, कर्मचारी टिकाइ राख्ने र पारिश्रमिकप्रति कठोर र अनम्य व्यवहारले अन्ततः बिरामी नै उपचारबाट वञ्चित हुनेछन्।”

डाल्टनका अनुसार उनीहरूले उक्त निर्णय पर्खँदै १० हप्ता वार्ताबाट बञ्चित भए। यसले अन्य युनियनलाई पनि सार्वजनिक संस्थासँग ‘सद्भावपूर्वक’ वार्ता गर्न सहजीकरण गर्ने अपेक्षा उनले गरिन्।

स्वास्थ्य NZ की कार्यकारी राष्ट्रिय निर्देशक रोबिन शियररले ERA को निर्णयलाई सम्मान गर्दै चाँडै वार्ता पुनः सुरु गर्ने बताइन्। उनले भनिन्, “हाम्रो लक्ष्य वरिष्ठ चिकित्सक तथा समग्र स्वास्थ्य प्रणालीका लागि न्यायपूर्ण र वहनयोग्य सम्झौता गर्नु हो। हाम्रो निवेदनको उद्देश्य विवाद टार्न र बिरामीमा पर्ने असर कम गर्नु थियो।” रेडियो एनजेडमा छापिएको समाचारमा उल्खे गरिएको छ ।

 Photo: RNZ / Ruth Hill,