काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वमा तान्ने योजनाको दोस्रो चरणको तयारी भइरहेको आशंका व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सम्झौता भएको दिनकै बिहान महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् ।

कुनै दल वा व्यक्तिको नाम नलिइ फेसबुकमा लेख्दै उनले भदौ २३ र २४ गतेका घटनालाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरणको रूपमा व्याख्या गरेका छन् । “भदौ २३ र २४ गतेको घटना नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने षड्यन्त्रको पहिलो चरण थियो,” उनले लेखेका छन्, “अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ ।”

महासचिव पोखरेलले भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको ज्यान लिइएको दाबी गरेका छन् । त्यसको भोलिपल्ट भदौ २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरिएको उनको टिप्पणी छ ।

उनले लेखेका छन्, “यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने तथ्य क्रमशः सार्वजनिक हुँदैछन् ।”

नयाँ राजनीतिक शक्तिहरू एकीकृत हुँदै गएको सन्दर्भमा महासचिव पोखरेलले पुराना राजनीतिक शक्तिहरूबीच पनि एकताको आवश्यकता औंल्याएका छन् । वर्तमान अवस्थालाई गम्भीर ठहर गर्दै उनले संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

“यस्तो संवेदनशील अवस्थामा नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबै जिम्मेवार र सक्रिय भूमिका खेल्न आवश्यक छ,” पोखरेलले उल्लेख गरेका छन् ।