निकै लामो समयदेखि चल्दै आएको पटक–पटकको संवाद, अनौपचारिक भेटघाट र सामूहिक छलफलपछि अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न सहमत भएका छन् । दुवै नेताबीच भएको सहमतिलाई औपचारिक रूप दिँदै ७ बुँदे सम्झौतापत्र मा हस्ताक्षर गरिएको हो ।

यस ऐतिहासिक सहमतिमा जेन–जी (Gen Z) अभियन्ता, स्वतन्त्र राजनीतिक व्यक्तित्व तथा केही कलाकारहरूको सक्रिय भूमिका रहेको बताइएको छ । लामो समयदेखि वैकल्पिक राजनीतिमा एकताको माग उठाउँदै आएका युवापुस्ताको दबाब र पहलले नै यो सहमति सम्भव भएको दाबी गरिएको छ ।

रास्वपाको नेतृत्व रवि, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन

सम्झौतापत्रअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेकै हातमा रहनेछ । पार्टी सभापतिको जिम्मेवारी लामिछानेले सम्हाल्ने र प्रतिनिधिसभा निर्वाचनपछि बन्ने संसदीय दलको नेताका रूपमा बालेन शाहलाई अघि सारिने सहमति भएको छ । यसैअनुसार बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार का रूपमा प्रस्तुत गरिने उल्लेख छ ।

सम्झौतामा भनिएको छ,
“राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनेछन् ।”

१० वर्षे मार्गचित्रसहितको साझा प्रतिबद्धता

रवि र बालेनले आगामी एक दशकभित्र नेपालको समग्र रूपान्तरण गर्ने १० वर्षे राष्ट्रिय मार्गचित्र अघि सार्दै त्यसप्रति इमानदार प्रतिबद्धता व्यक्त गरेका छन् । समुन्नति, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राख्दै नीतिगत, संस्थागत र संरचनागत सुधारमार्फत नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने उनीहरूको साझा लक्ष्य रहेको सम्झौतामा उल्लेख छ ।

पार्टीको नाम, झण्डा र चिन्ह यथावत

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत राख्ने सहमति भएको छ । यसबाट रास्वपाको पहिचान, ब्रान्ड र संगठनात्मक निरन्तरता कायम रहने बताइएको छ ।

यद्यपि, सम्झौतापत्रमा एउटा चासोको विषय पनि देखिएको छ । सम्झौतामा रवि लामिछाने र बालेन शाह दुवैले आफ्नो पदीय हैसियत उल्लेख नगरी नाम मात्र लेखेर हस्ताक्षर गरेका छन् । सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीको उल्लेख भए पनि रवि लामिछानेले पार्टी सभापतिको हैसियतले हस्ताक्षर गरेका छैनन् । त्यसैगरी बालेन शाहले पनि काठमाडौं महानगरपालिकाका मेयरको हैसियत खुलाएका छैनन् ।

सम्झौतापछि बालेन शाहले मेयर पदबाट राजीनामा दिएर सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने सम्भावना बलियो देखिएको छ ।

जेन–जी आन्दोलनको अपनत्व र भ्रष्टाचारविरुद्धको अडान

सम्झौतापत्रको पहिलो बुँदामा नवयुवा (जेन–जी) ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । आन्दोलनका क्रममा घाइते भएका तथा शहीद भएका परिवारका माग सम्बोधन गर्न दुवै नेता प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।

दोस्रो बुँदामा सामाजिक न्याय र समुन्नतिका लागि ठोस सुधारको खाका प्रस्तुत गर्दै राज्य संयन्त्रमा गहिरो परिवर्तन ल्याउने प्रतिबद्धता जनाइएको छ ।

बृहत एकताको उद्घोष, तर केही नामबारे मौनता

रवि र बालेनले आफूहरूलाई सम्झौतामा पहिलो र दोस्रो पक्षका रूपमा प्रस्तुत गर्दै अब बृहत राजनीतिक एकता तर्फ अघि बढ्ने उद्घोष गरेका छन् । यद्यपि, सम्झौतापत्रमा ऊर्जा क्षेत्रमा चर्चित व्यक्तित्व कुलमान घिसिङ र उनी आबद्ध उज्यालो नेपाल पार्टीका बारेमा कुनै उल्लेख गरिएको छैन । तर, बृहत एकताको क्रममा उनीहरूलाई पनि समेट्ने संकेत भने गरिएको छ ।

सम्झौतामा पार्टी संगठन विस्तार गर्दा युवा अभियन्ता, अनुभवी विज्ञ र सार्वजनिक छवि राम्रो भएका व्यक्तिलाई प्राथमिकताका साथ जिम्मेवारी दिने उल्लेख छ । योग्यता, समावेशिता र सार्वजनिक विश्वासलाई आधार मानेर संगठन विस्तार गरिने बताइएको छ ।

निर्वाचन आयोगमा दस्तावेज अद्यावधिक, समानुपातिक सूची तयारी

यो सम्झौता तत्काल कार्यान्वयन गर्ने योजनाअनुसार निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख र दस्तावेज अद्यावधिक गरिने घोषणा गरिएको छ । अब बालेन पक्षका समानुपातिक उम्मेदवारहरू स्वतः रास्वपाबाट प्रतिस्पर्धा गर्नेछन् ।

सम्झौताअनुसार सम्भवतः दुई दिनभित्रै आपसी सहमतिमा समानुपातिक उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाइनेछ । प्रत्यक्षतर्फको मनोनयन भने अझै करिब तीन साता बाँकी रहेको छ ।

वैकल्पिक राजनीतिक शक्तिको दाबी

रवि–बालेन गठजोडले आफ्नो अभियानलाई वैकल्पिक राजनीतिक शक्ति को नाम दिँदै रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्हमा गोलबद्ध हुन आह्वान गरेको छ ।

सम्झौतामा भनिएको छ,
“लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्दछौं ।”

अघिल्ला असफल प्रयासपछि निर्णायक मोड

यसअघि पनि रवि लामिछाने र बालेन शाहबीच पटक–पटक एकैसाथ निर्वाचनमा जानेबारे छलफल भए तापनि निष्कर्षमा पुग्न सकेको थिएन । तर, कारागारमा रहेका रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशबाट रिहा भएपछि एकताको छलफलले तीव्रता पाएको थियो ।

यसक्रममा दुवै पक्षले ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि छलफल गरेका थिए । तर आइतबार बिहानै भएको अन्तिम सम्झौतामा घिसिङ प्रत्यक्ष रूपमा जोडिएका छैनन् ।

यो सहमतिलाई नेपाली राजनीतिमा वैकल्पिक धारको सबैभन्दा ठूलो एकताको प्रयासका रूपमा हेरिएको छ । अब यो गठजोडले आगामी निर्वाचनमा कस्तो परिणाम ल्याउने हो, त्यसतर्फ सबैको ध्यान केन्द्रित भएको छ ।

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्धता जनाउने,

७ बुँदे सम्झौताका विषयवस्तुहरु–

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आह्वान गर्ने।

रवि लामिछाने  बालेन शाह
१३ पुस, २०८२
काठमाडौं